धरान : मोरङको कटहरीमा मुख्य कार्यालय रहेको जीवन विकास लघुबित्त बित्तिय संस्थाको धरान १, लक्ष्मी चोकमा शाखा कार्यालय छ । सोही शाखामा सहायककोरुपमा कार्यरत छन्, मोरङको धनपालथान गाउँपालिका २ का ३५ बर्षीय शम्भप्रसाद गच्छदार ।

सधै झैं उनी आज पनि मोरङको याङ्शिलामा पर्ने लामिछानेटार क्षेत्रमा समुहको पैसा उठाएर धरानतर्फ फर्कदै थिए । उनी मोटरसाइकलमा धरानको वडा नं ५ साउनेटार(साविक पाँचकन्या गाविस)मा आइपुग्दा ३ जनाले बाटो रोके । शुरुमा उनीहरुले 'ब्यागमा के छ ?' भन्दै खानतलासी गर्न खोजे । तर, गच्छदारले मोटरसाइकलको ह्याण्डलबाट दुवै हात नछोडेपछि ३ जना मध्ये २ जनाले पेस्तोल निकाले । त्यसपछि उनको टाउकोमा पेस्तोलले हान्यो । ‘उनीहरुले २,३ फायर गर्यो, तर मलाई लागेन । पछि २ गोली चै लाग्यो । मसँग भएको झोला पैसा लिएर गयो,’उनले भने ।

घाइते गच्छदारका अनुसार करिब ४ लाखको हाराहारीमा पैसा साथमा थियो । लुटेरा समुहले निक्कै पर बाइक(स्कुटर) रोकेर हिड्दै आएको उनले बताए । नकाव वा मास्क केही पनि नलगाई आएको र ३ जना मध्ये एक जना होचो(पुड्के) भएको पनि उनले बताए । ‘उनीहरुलाई देखे भने म चिन्छुँ,’वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेका गच्छदारले भने ।

घाइते खतरामुक्त: चिकित्सक

घाइते गच्छदारको उपचारमा संलग्न चिकित्सकले उनी खतरामुक्त भएको बताएका छन् । गच्छदारलाई प्रहार भएको दुवै गोली उनको शरिरबाट बाहिरिएको डा.कमर आलमले बताए । गच्छदारलाई एउटा गोली देब्रे कम्मरमाथि लागेको छ भने अर्को गोली देब्रे पाखुरामा लागेको छ । ‘दुवै गोली गहिरो गरि लागेको छैन, बाहिर बाहिर लागेर गएको छ, शरिरमा छैन,’डा.आलमले भने,‘त्यसैले उनी खतरामुक्त छन् ।’