धरान: धरानको छाताचौकस्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सही सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ ।

शनिवार राती धरान १४ का वर्ष २१ का राजन थापा मगर माथि सोही स्थानमा आक्रमण भएको छ । उनको टाउकोको बाँयापट्टि कान लत्रिने गरी हतियारले प्रहार गरिएको धरान नं १४ का वडा सदस्य सोभा पुलामीले जानकारी दिइन् । बोल्न नसक्ने गम्भिर अवस्थामा उनको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । उनलाई आक्रमण कसले र किन गर्यो भन्नेबारे कुनै जानकारी भएको छैन ।

अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था नभएको, खुला र एकान्त पनि भएकाले उक्त क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरुसमेत निर्वाध आवतजावन गर्ने गरेका छन् । त्यहाँ धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा छ, तर उचित सुरक्षा हुन नसक्दा कर्मचारीहरु पनि असुक्षित छन् । पुरानो अस्पताल वीपी प्रतिष्ठानको स्वामितवमा छ । त्यहाँ १ विगाह १३ कठ्ठा १४ धुर क्षेत्रफल जग्गा छ भने जीर्ण भवनहरुमा अहेव र अनमीकोस्तरवाट स्वास्थ्य चौकी, वर्थिङ सेन्टर सञ्चालनमा छ । साथै, सुकुम्वासी बसेका छन् भने पुनस्र्थापना गृह पनि सञ्चालनमा छ । यस्तै, भाडाका सवारीको पार्किङ थलो पनि अस्पतालमा हुने गरेको छ । पछिल्लो समय वीपी प्रतिष्ठानले त्यहाँ ओपिडी सेवा सञ्चालनको योजना बनाएको छ भने भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने पनि लक्ष्य राखेको छ । तर, धरान उपमहानगरपालिकाको उचित सहयोग नहुदा समस्या भएको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।

उपमहानगरपालिकाले एकातिर त्यै जीर्ण भवनमा स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन गर्ने अर्कोतिर प्रतिष्ठानले धनपाको समेत प्राविधिक मूल्यांकन र रायअनुसार आवश्यक मर्मत सम्भार गरेर सेवा विस्तार गर्न खोज्दा नयाँ संरचना नै बनाउनुपर्छ भनेर सेवा विस्तारमा अवरोध गरेको अस्पताल सेवा विस्तारका संयोजक समेत रहेका उनले जानकारी दिए ।प्रतिष्ठानमा सामान्य विरामी र स्वास्थ्य वीमाका विरामीहरुको चापले गर्दा जटिल प्रकारका विरामीहरुको उपचार प्रभावित हुंदै आएको छ । सेवा विस्तार प्रतिष्ठानको कर्तव्य भएतापनि आवश्यकता जनताको भएकाले धनपा र सम्बन्धित सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।