काठमाडौं : काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आज आइतबार अपरान्ह बम बनाउँदै गरेको स्थानमा विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्येमा १ जनाको सनाखत भएको छ  र २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लोकमञ्जरी कार्की रहेको प्रहरीको भनाई छ । कार्कीको  अनामनगरस्थित घट्टेकुलोमा भएको विष्फोटमा परेर मृत्यु भएको हो ।  दुई मृतकको शव त्रिवि शिक्षण अपस्पताल र ओम अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको पहिचान भएको छ । पहिचान हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का, कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन र विप्लवका कार्यकर्ता रविन केसी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।  बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।