ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “उपभोक्ताद्वारा वन कार्यालय घेराउ” शीर्षकको समाचार छापिएको छ । मोरङको केराबारी गाउँपालिका वडा नं. ९ खयरघारी र घङ्घरुका उपभोक्ताहरुले आइतबार इलाका वन कार्यालय केराबारी घेराउ गरेका छन् । वन कार्यालय केराबारीले केराबारी ९ स्थित धरधरे सामुदायिक वन समूहले संरक्षण गर्दै आएको वन क्षेत्रमा रुख कटान गरेपछि स्थानीय उपभोक्ताहरुले वन कार्यालय घेराउ गरेका हुन् । धरधरे सामुदायिक वन समूहका उपभोक्ताहरुले संरक्षण गर्दै आएको वनक्षेत्र लोहन्द्रा साझेदारी वन गठनको क्रममा हस्तक्षेप गरेपछि उपभोक्ताहरु तीनवर्षदेखि संघर्षरत छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “अवैज्ञानिक थेरापीको जोखिम” शीर्षकको समाचार छापिएको छ । परम्परागत थेरापी र जडीबुटी उपचारको भरपर्दो धेरै
अभिभावकले बालबालिकाका हातखुट्टा प्राकृतिक जस्तो पाउन सकेका छैनन् । चिकित्सकीय उपभारमा नलागी जडिबुटीको भर परेका प्रदेश १ का कतिपय बाबुआमा रुदैँ बसेका छन् । यस्तै एक अभिभावक हुन् मोरङ सुनवर्षी ७ वरडंगाका बुधनलाल अमात । रंगेलीस्थित आमतोलामा रहेको मुर्मु थेरापीको भरपर्दा बालक छोराको हात बिग्रिएकोले उनी रोएको १७ महिना भयो । राजकुमार त्यसबेला ६ वर्षका थिए । २०७४ को पुष महिनामा खेल्ने क्रममा लडेर दाहिने हातको हड्डी भाचियो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विपन्नको घरमा भित्रियो उज्यालो” शीर्षकको समाचार छापिएको छ । भोजपुरको हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना दर्जीको टुकीको सहारामा रात काट्नुपर्ने दिन अब सकिएको छ । मोबाइलको ब्याट्री कम हुँदा छिमेकीको घर जानुपर्ने बाध्यता पनि हटेको छ । गाउँपालिकाले दिएको ५० वाट क्षमताको सोलार सेट डोकोमा बोकेकी सिर्जनाले प्रफुल्ल मुद्रामा भनिन्, “आज म डोकोमा उज्यालो बोकेर घर जादैछु । गाउँपालिकाले निशुल्क सोलार दिएपछि उनको मुहारसँगै घरमा पनि उज्यालो भित्रिएको हो । पतिले दोस्रो विहे गरेर गएपछि २ वटा नानी सहित एक्लै बस्दै आएकी सिर्जना जस्तै गाउँका २२ परिवार विपन्नको घरमा सोलारको उज्यालो भित्रिएको छ । हतुवागढी ७ की रिता दर्जाी पनि डोकोमा सोलार बोकेर जादैँ गर्दा अरुको घरमा जस्तै रातमा उज्यालो हुने भन्दै खुसी व्यक्त गर्दै थिइन् ।