सिक्किम:बहुसंख्यक नेपाली भाषाी रहेको भारतको उत्तरपुर्वी राज्य सिक्किमले नयाँ मुख्यमन्त्रीकोपमा पिएस गोले(प्रेमसिंह तामाङ)लाई पाएको छ ।

चुनावमा हारसँगै चाम्लिङले मुख्यमन्त्री पद त्यागेर नयाँ मुख्यमन्त्रीलाई बाटो खुला गरेका थिए । नयाँ मुख्यमन्त्रीकोरुपमा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष ५१ बर्षीय पिएस(प्रेमसिंह) गोलेले शपथ ग्रहण गरेका छन् । उनले गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरे । स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो । मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै गोलेले आजै मन्त्रिपरिषद पनि विस्तार गर्ने बताइएको छ ।

सिक्किममा २४ बर्ष एकछत्र राज गरेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडिएफ) गएको विधानसभा चुनावमा नमिठो पराजय व्यहोरेपछि उनी २४ बर्षे लामो सत्ताबाट बाहिरिन बाध्य भए । चुनावमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम)ले बहुमत पाएको थियो । कल ३२ सिट रहेको सिक्किमको विधानसभामा गोले अध्यक्ष भएको मोर्चाले १७ सिट जितेको थियो भने चाम्लिङको एसडिएफ मात्र १५ सिटमा खुम्चन बाध्य भयो । सिक्किममा भएको एउटा लोकसभा सिट पनि गोले नेतृत्वको मोर्चाले नै जितेको थियो । यसअघि, सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।