झापा: झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुल भेटिएको प्रेसरकुकर बम डिस्पोज गरिएको छ ।

नेपाली सेनाको बिशेषज्ञ टोलीले रतुवा पुलमा फेला परेको प्रेसर कुकर बमलाई डिस्पोज गरेको हो । भर्खर बम डिस्पोज गरिएपछि अवरुद्ध भएको पुर्वपश्चिम राजमार्ग पनि खुलेको छ । करिब २ घण्टा यता पुर्वपश्चिम राजमार्ग अवरुद्ध हुदा ठुलो संख्यामा सवारीसाधनहरु जाममा परेको थियो । प्रेसर कुकर बमलाई चारआलीबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

यसैगरि, झापाकै गौरदहमा पनि भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ । गौरदहस्थित नवनिर्मित ट्राफिक भवन नजिकै शंकास्पद वस्तु भेटिएको छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोजपुरमा आफ्ना कार्यकर्ता गोली हानी हत्या गरेको भन्दै आज नेपाल बन्द आह्वान गरेको छ । बिहानैदेखि देशको विभिन्न ठाउँमा शंकास्पद वस्तु तथा बमहरु फेला पर्ने क्रम जारी छ । विप्लवको बन्द आह्वन भएपनि झापामा अन्य सवारीसाधनहरु चलेका छन् ।