पथरी: मोरङ्गको पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे कला साहित्य उत्सव २०७६ आयोजना हुने भएको छ ।

कला साहित्य प्रवद्र्धन समितिले यही जेठ १८ र १९ गते सहित्य उत्सव आयोजना गर्ने भएको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरेर सृजना क्षेत्रको महत्व र मर्म वुझाउन साथै संरक्षण, संवद्र्धन र विकासको लागि उत्सव आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक अमिर राईले उत्सव अन्र्तगत मोरङ्गको पथरीशनिश्चरे नगरभित्रका कला र साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । साथै, पथरी क्षेत्रका शैक्षिक तथा साहित्यका अगुवा स्वर्गीय सिएम कन्दङ्गवालाई मरोणपरान्त सम्मान गरिने पनि उनले बताए ।

पथरी क्षेत्रका चित्रकारले तयार पारेको चित्रकला, प्रहसन,मौलिक गीत तथा नृत्य पनि कार्यक्रममा प्रस्तुत गरिने संयोजक राईले बताए । दोस्रो दिन मोरङ्गको साहित्यको अवस्था विषयमा कार्यपत्र प्रस्तुत हुनेछ भने प्रदेश नम्वर १ का साहित्य श्रष्टाले आफ्नो सृजना प्रस्तुत गर्नेछन् । सोही दिन मुर्तिकला तथा चित्रकला प्रस्तुत हुनेछ । पथरीमा क्रियाशिल रहेको एभरेष्ट आर्ट फ्युजन उत्सवको सहआयोजक रहेको छ । उत्सव सम्पन्न गर्न कुल ३ लाख ५ हजार खर्च हुने अनुमान गरिएको समितिका सचिव रोहित पराईले जानकारी दिए । पथरीशनिश्चरे नगरपालिकालाई सिर्जनात्मक नगरका रुपमा पहिचान स्थापित गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।