इटहरी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित दुईजनालाई पक्राउ गरेको छ ।

व्यवसायिक सीप विकास केन्द्र झापामा कार्यरत शाखा अधिकृत सुमिन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई घुस सहित सोमबार अख्तियारको टोलीले पक्राउ गरेको हो । सोमबार दिउँसो घुस लिईरहेको अवस्थामा अख्तियार इटहरीका प्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वमा उनीहरुलाई झापाबाटै पक्राउ गरिएको हो । उनीहरुले सेवाग्राहीसँग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि भन्दै ३५ हजार रुपैँया घुस मागेका थिए ।

सेवाग्राहीले दिएको ३५ हजार नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख महेश आचार्यले जानकारी दिए । उनले भने,‘तालिम कार्यक्रम सञ्चालन गरे बापत भुक्तानी प्राप्त गर्नुपर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पाएको र उजुरी पनि आएकाले हामीले आज पक्राउ गरेका हौँ ।’ उनीहरुबारे थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । थप अनुसन्धान पछि मुद्दा दायर गरिने प्रमुख आचार्यले जानकारी दिए ।