मोरङ: आज बिहान मोरङको उर्लाबारी–मधुमल्ला सडकखण्डमा शंकास्पद वस्तु स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । दिनभरजसो उक्त बस्तु बम भएको हल्ला चल्यो । स्थानीयहरु एककिसिमले त्रसित पनि बन्न पुगे ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको थियो । आइतबार नै राजधानीमा विष्फोट हुदा विप्लवका कार्यकर्ता नै हताहत भएको थियो । प्रेसर कुकर बमसहित उनका कार्यकर्तहरु थुप्रै समातिएका थिए । आज बिहानै पनि मोरङ, झापा र सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु र कुकर बम पनि भेटिएको थियो । त्यसैले मधुमल्लामा भेटिएको शंकास्पद वस्तु पनि पक्कै विष्फोटक पदार्थ भरिएको हुनसक्ने अनुमान थियो । त्यसैले त्यसक्षेत्रमा यातायात अवरुद्ध भएको थियो ।

जनजीवनलाई घण्टौंसम्म त्रस्त बनाएको शंकास्पद बस्तु बम नभै रक्सीको बोतल मात्र भएको पाइएको छ । कालो टेपले बेरेर तार जोडेको जस्तो गरेर बम हो भन्ने भ्रम पारेर सर्वसाधारणलाई त्रसित बनाएको उक्त वस्तुभित्र २ वटा बोतल मात्र भेटिएको छ ।

बिहान ९ बजेतिर भेटिएको उक्त बस्तुलाई नेपाली सेनाको टोलीले दिउँसो करिब ३ बजेतिर डिस्पोज गर्नेक्रममा बम नभै सिग्नेचर रक्सीको २ वटा क्वार्टर साइजको बोतल मात्र भएको रहस्य खुल्यो । 'कालो प्लाष्टिकले र्याप गरेर टेपले बेरेको थियो । विजुलीको तार पनि जोडिएकोले सकेट बम होला कि भन्ने थियो । तर, सिग्नेचरको क्वार्टर साइजको २ वटा बोतल मात्र रहेछ,'उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले भने,'शंकास्पद चिज भएकैले सुरक्षाको उपाय अपनाउनु परेको थियो ।'

आज धेरै स्थानमा शंकास्पद वस्तु भेटिएको र सेनाको बिशेषज्ञ टोली सबैतिर जानुपर्ने भएकोले पनि त्यहाँ डिस्पोज गर्न समय लागेको थियो । सकेट बमको आशंका गरिएकोले क्षति हुन नदिन त्यस क्षेत्रमा आवगमन रोक्नु परेको थियो । अहिले भने सहज अवस्था भइसकेको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।