ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “काँकडभिट्टा नाकाबाट ३ महिलाको उद्दार” शीर्षकको समाचार छापिएको छ । भारतको बाटो हुँदै मानव तस्करले कुवेत लैजादै गरेका ३ महिलाको उद्दार गरिएको छ भने संलग्न ३ जनालाई पक्राउ गरिएको छ । झापाको काँकडभिट्टा नाकाबाट लैजादै गरेको अवस्थामा साना हातहरु नेपाल, आफन्त नेपाल र प्रहरकिो सहयोगमा नेपाल–भारत सीमाबाट उद्दार गरिएको हो । मोरङका २ र झापाका १ जना महिला रहेका छन् भने महिला लैजानेमा संलग्न झापाका ३ जना पक्राउ परेका छन् । उद्दार गरिएका महिलाहरुमा मोरङ सुनवर्षी नगरपालिका बस्ने ४६ वर्षीय, मोरङकै उर्लाबारी नगरपालिकाकी २५ वर्षीया र भद्रपुर नगरपालिका बस्ने ३१ वर्षीया महिलालाई उद्दार गरिएको साना हातहरु नेपाल भद्रपुरका कर्मचारी विक्रम वाग्लेले जानकारी दिए । उनीहरुलाई दलालले नै राहदानी बनाइदिएर कुवेत लैजादै गरेको खुलेको उनले बताए । अवैध बाटोबाट गइरहेका महिलालाई उद्दार गरिरहे पनि जानेको संख्या नघटेको उनको भनाई छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “१० करोडको बसपार्क अलपत्र” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सुनसरीको सदमुकाम इनरुवामा नवनिर्मित बसपार्क अझैसम्म सञ्चालनमा आएको छैन । उद्घाटन गरिएको ५ महिना बितिसक्दासमेत इनरुवा बसपार्क सञ्चालनमा आउन नसकेको हो । कालिका कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पौष २५ गते वर्तमान उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिले करिब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्ककको निर्माण सम्पन्न गरेको कन्स्ट्रक्सनका इन्जिनियर सञ्जय अधिकारीले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बम पड्कनु वार्ताको संकेत” शीर्षकको समाचार छापिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूले बम पड्काउनु वार्ताको संकेत भएको बताएका छन् । मोरङ व्यापार संघको ६४ औँ साधारणसभालाई सोमबार सम्बोधन गर्दै दाहालले विप्लवले जताततै बम पड्काउनु वार्ताको संकेत भएको बताएका छन् । दाहालले सरकारले वार्ताका लागि पहल गरिरहेकोले चाँडै समस्या समाधान हुने पनि दाबी गरे । उनले भने, “हत्या, हिंसा, आतंकले कुनै पनि समस्याको समाधान नहुने भएकाले वार्ताको माध्यमबाट चाँडै सबैखाले समस्याको समाधान हुन्छ ।” दाहालले समस्याको समाधान चाँडै निस्कने दाबी गरिरहँदा सोमबार विप्लव समूहले आयोजना गरेको बन्दका क्रममा मोरङका विराटनगरलगायत देशभरका विभिन्न स्थानमा बम पड्काएको छ ।

औजार : आजको औजार दैनिकमा “धरानको एक विद्यालय विरुद्ध ठगीको उजुरी” शीर्षकको समाचार छापिएको छ । चन्द्र संस्कृत माध्यमिक विद्यालय धरान १६ विरुद्ध धरान उपमहानगर वडा नं. १६ को वडा समिती कार्यालयमा ठगीको उजुरी परेको छ । विद्यालयको स्वामित्वमा रहेको जग्गा ठेक्का लगाएर जग्गा कमाई गर्न नदिएपछि पीडितले वडा समितीको कार्याmयमा उजुरी हालेका हुन् । विद्यालयको विरुद्ध धरान १६ स्थित वडा समितीको कार्यालयमा पीडितले उजुरी दिएका हुन् ।धरान १७ स्थित बीच घोपाको २ “क” कित्ता नं. ३८७ को जम्मा ९ कठ्ठा जग्गालाई विद्यालयले ठेकका लगायर पनि जग्गा कमाइ गर्न नदिएपछि विवाद बढेको हो । ५ वर्ष समयवधि राखेर कमाई गर्नका लागि धरान १७ का दुर्गा राई र गोमा राईलाई विद्यालयले जग्गा ठेक्कामा दिएको थियो । विद्यालयले ३ वर्ष अघि नै उनीहरुबाट रकम लिए पनि अहिलेसम्म जग्गामा कमाइ गर्न दिएको छैन । सो बिलमा विद्यालयले २०७२ साल कार्तिक २ गते ३० हजार रकम बुझि लिएको देखिन्छ । चन्द्र संस्कृत माविको भुक्तानी रसिदमा लिज रकम पेश्की खुलाएर विद्यालयका प्रध्यानध्यापकको हस्ताक्षरमा रकम लिएको छ ।