विराटनगर : पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा एकै परिवारका ९ जनाको सामुहिक हत्या भएको घटनाको यथार्थ चाँडो पत्ता लगाएर सार्वजनिक गर्न एक नम्बर प्रदेशसभाका सांसदहरुले माग गरेका छन् ।

सोमबारदेखि सुरु भएको एक नं. प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो दिन सांसदहरुले प्रदेशमा रहस्यमय घटनाहरु बढ्दै गएकोमा निन्दा गर्दा चाँडो यथार्थ पत्ता लगाएर सार्वजनिक गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

सबैको साझा माग थियो, “बढ्दो रहस्यमय अपराधीक घटनाहरुको रोकथाम गर्न सरकार लागिपर्नुपर्छ र घटेका अपराधको चाडो यथार्थ सार्वजनिक गर्नुपर्छ ।” नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले बढ्दो अपराधीक घटनाहरुप्रति सरकार जिम्मेवार हुनुपर्ने बताए । कांग्रेस संसदिय दलका नेता राजिव कोइरालाले रहस्यमय अपराधका घटनासँगै हत्या हिंसा बढ्दै गएकोले प्रदेशको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक भएको बताए । –औजार दैनिकबाट