झापा : झापाको लखनपुरमा रंगशालाको शिलान्यास गरेको १० वर्ष पुग्न लाग्यो । २०६६ मा रक्षामन्त्रीको हैसियतमा रंगशालाको शिलान्यास गरेकी विद्या भण्डारी अहिले दोस्रो कार्यकाल राष्ट्रपति पद बहालमा छिन् तर रंगशाला निर्माणको काम भने अघि बढेकै छैन ।

रंगशालाको नाम राष्ट्रपतिका पति मदन भण्डारीको नाममा राख्ने वा आदिवासी भन्ने विवादले निर्माण अगाडी बढ्न नसकेको बताईएको छ । लखनपुरमा प्रस्तावित रंगशालाको नामको विवाद अन्त्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आदिवासी रगंशाला तथा स्मृति प्रतिष्ठानले छलफल बढाएका छन् । प्रतिष्ठानले रंगशालासँगै १५ बिघा क्षेत्रफलमा अत्याधुनिक आदिवासी संग्राहालय र स्मृति पार्क बनाउनुपर्ने सर्त राखेको छ । रंगशालाको नाम आदिवासी हुनुपर्ने अडान छाड्न प्रतिष्ठान तयार भएको छ ।
तर त्यसका लागि सरकारले लखनपुरमै करिब ३ सय बिघा क्षेत्रफलमा किरात समुदायका लागि समाधिस्थलसहितको धार्मिक वन निर्माण गरि भोगाधिकार आफूलाई दिनुपर्ने सर्त पनि प्रतिष्ठानको रहेको आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

13

नेकपाले नामको विवाद अन्त्यका लागि केन्द्रीय सदस्य देवेन्द्र दाहालको संयोजकत्वमा समिति गठन गरेको छ । त्यो समितिका अनुसार संग्राहलयसहितको पार्क बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहनुभएको रंगशाला बिबाद समाधान समितिका संयोजक देबेन्द्र दाहाल बताउँछन् ।
बजेट विनियोजन गरी आगामी आर्थिक वर्ष ४० हजार दर्शक क्षमताको रंगशालाको निर्माण सुरु गर्ने सरकारको तयारी रहेको बुझिएको छ । तर सहमति भइ नसकेकाले निर्माण कार्य सुरु हुन्छ भनेर ढुक्क हुने अवस्था भने अझैपनि नरहेको अवस्था छ ।