भोजपुर ः गत साता पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारको ९ जना हत्याको घटनाले सबै नेपालीलाई स्तब्ध तुल्यायो । त्यो हत्याकाण्ड यति ह्दयविदारक र विभत्स थियो कि हत्याराले अनुहार, जीउ सबैतिर जथाभावी धारिलो हतियार प्रहार गरेको थियो । त्यो हत्याकाण्ड क्रुरताको पराकाष्ठ थियो ।

आज फेरि यस्तै एउटा क्रुर घटना बाहिरिएको छ । करिब ९ महिना कोखमा राखेर जन्म दिएकी आमाले आफ्नो नाबालक सन्तानलाई हत्या गर्ला भनेर कसैले अनुमान लगाउन कठिन पर्छ । त्यो पनि अचानोमा राखेर खुकुरीले दुई टुक्रा पार्ने कल्पना पनि गर्न सकिन्न । तर, भोजपुर सदरमुकाममा आज एउटी आमाले यस्तै क्रुरता प्रर्दशन गरेकी छिन् । सदरमुकामस्थित पानीटंकी भन्ने ठाउँमा २५ बर्षीय सम्झना थापाले २२ महिना छोराको हत्या गरेकी छिन् । उनले आज बिहान करिब ७ बजेतिर छोरा सम्बोधनको खुकुरीले घाँटी छिनाएर हत्या गरिन् ।

प्रहरीका अनुसार उनले घरको छतमा लगेर खुकुरीले छोराको घाँटी काटेकी छिन् । अचानोमा राखेर उनले छोराको घाँटी काटेर दुई टुक्रा बनाएको प्रहरीले जनाएको छ । उनको श्रीमान् सुर्यबहादुर थापा कार्यालयको कामले बाहिर गएको बेला यो घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुको खास घर भने रामप्रसाद राई गाउँपालिकाको बासिखोरा हो । उनीहरु आफन्त भेनाजुको घरमा सदरमुकाममा बस्दै आएका थिए । घटनापछि सम्झनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिएको डिएसपी केशवकुमार थेवेले बताए ।