धरान: सशस्त्र प्रहरीले धरानमा ३ सय ३३ एम्पुल लागूऔषध वरामद गरेको छ । लागुऔषध कारोबारीले भानुचोकमा सशस्त्र प्रहरीलाई देखेपछि पल्सर मोटरसाइकलसमेत छोडेर भागेका छन् । तर, उनको झोलाबाट नागरिकता फेला परेपछि प्रहरीले खोजी तीब्र पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानबाट सोमबार राती एक टोली भानुचोकमा खटिएको थियो । हिजो नेत्रबिक्रम चन्द विप्लवको बन्द भएकोले पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो । राती करिब ८ बजे धरानको भानुचोकमा खटिएको सशस्त्रले परैबाट २२० सिसिको पल्सर मोटरसाइकलमा एक युवा आइरहेको देख्यो । ती युवाले पनि सशस्त्र प्रहरी देखेपछि अत्तालिए झै भयो । उनले मोटरसाइकल टर्न गर्न खोज्दा खोज्दै सशस्त्र प्रहरीले रोक्यो । तर, उनले आफुले बोकेको झोला र मोटरसाइकलसमेत छोडेर भाग्न सफल भयो ।

bike

उनले प्रयोग गरेको को ३१ प ६०७३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल र बोकेको झोला सशस्त्रले नियन्त्रणमा लिएको थियो । झोला खोलेर हेर्दा ठुलो मात्रामा लागुऔषध वरामद भएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानका प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठले बताए । ‘ड्यूटी खटिएको हाम्रा मान्छेलाई देख्नासाथ एक यूवा डराएजस्तो अस्वभाविकरुपमा मोटरसाइकल लडखडाउन खोज्यो, त्यसपछि रोकेर चेक गर्न खोज्दा मोटरसाइलक र झोला छोडेर भाग्यो,’श्रेष्ठले भने,‘त्यसपछि झोला खानतलासी गर्दा झोला भित्र लागूऔषध, नागरिकता लगायतअन्य कागजात पनि भेट्यौं ।’

सशस्त्र प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर झोलाभित्र एभिल ११८ एम्पुल, लुप्रिजेसिक १११ एम्पुल र डाइजेल्याप १०४ एम्पुल भएको जानकारी दिएको छ । सुइ हान्न पहिला सफा गर्ने प्याक गरिएको सामग्री र सिरिन्ज समेत भेटिएको सशस्त्रले जानकारी दियो । सोही झोलाबाट धरान–३ ठेगाना उल्लेख भएको नविनराज राईको नागकिता (सक्कल) थान १, मोटरसाइलको इन्स्यूरेन्स कागज र जिल्ला ट्राफीक प्रहरी कार्यालय सुनसरीले यातायात व्यावस्था कार्यालय इटहरीलाई विलबुक हराएको सम्बन्धमा दिएको सिफारिस पत्र समेत फेला परेको छ । सोही आधारमा फरार हुने व्यक्ति नविनराज नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । बरामद लागूऔषध ठुलो परिमाणमा भएकाले फरार व्यक्ति काराबारी रहेको प्रहरीले जनाएको छ । ‘लागुऔषधको परिमाण धेरै छ,’प्रनि श्रेष्ठले भने,‘त्यसैले यो कारोबारी नै हो ।’

IMG_20190528_113810 1

बरामद लागूऔषध, मोटरसाइल र कागजातहरु आवश्यक अनुसन्धानको लागि वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, इलाका प्रशासन कार्यालय धरानका अधिकृत तोयानाथ लम्साल, पत्रकारको रोहबरमा सशस्त्र पोष्टले इलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको छ । ‘हामीले फेला पारेका लागूऔषध, मोटरसाइल, कागजातहरु आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानलाई बुझाएका छौं,’श्रेष्ठले भने । फरार रहेका कारोबारी चाडै पक्राउ पर्ने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । फेला पारेको नागरिकताधारी धरान ३ का नविनराज राई यसअघि पनि लागूऔषध कारोबारीमा पक्राउ परेको बताइएको छ ।