झापा: झापाको कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगी उत्तरमा सशस्त्र प्रहरी वलको जग्गालाई मिलेमतोमा भुमाफियाहरुले व्यक्तिगत नाममा दर्ता गर्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ ।

सरकारले नै भुमाफियाहरुसँग मिलेर देशैभरीका सरकारी जग्गा व्यक्तिगत बनाउन लागिरहेको भन्दै कांग्रेसले झापामा पनि मिलेमतोमा नै सरकारी जग्गा भुमाफियालाई दिलाउन लागिएकोमा चर्को विरोध जनाएको छ । सशस्त्र प्रहरी बलको जग्गा पनि व्यक्तिगत नाममा दर्ता गर्न लागको भन्दै कांग्रेस दमक नगर सभापति रोशन विष्टले यसको विरोध गरिएको बताए । यो बिषयमा सत्यतथ्य बुझ्नको लागि पार्टिका महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङयाको संयोजकत्वमा एक समिति गठन गरिएको र उक्त समितिले आज मालपोत कार्यालय दमकमा पुगेर सो जग्गाका कागजपत्रहरु अध्ययन गरेको कांग्रेसले जानकारी दिएको छ ।

पार्टीद्वारा गठित समितिका संयोजक सुब्बासहित कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, कांग्रेस कमल गाउँपालिकाका सहसंयोजक राजु न्यौपाने, दमक नगर सभापति रोशन विष्ट, नगर सदस्य मुकुन्द उप्रेतीसहितका कांग्रेस नेता, कार्यकर्ताहरुले दमकका प्रमुख मालपोत अधिकृत नरेश बहादुर अधिकारीलाई भेटेर उक्त जग्गा व्यक्तिको नाममा नगर्न सचेत गराएको छ । प्रमुख मालपोत अधिकृत अधिकारीले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने काम आफुले कुनै हालतमा हुन नदिने बताएका थिए । सो जग्गालाई व्यक्तिको नाममा पार्नबाट रोक्न राजनैतिक दलहरुले पनि आफुलाई सहयोग गर्नुपर्ने कांग्रेससँग सहयोगको आग्रह गरेका थिए ।