ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “उद्योगी गौतमलाई थुनामा राख्न आदेश” शीर्षकको समाचार छापिएको छ । आफ्नै उद्योगमा काम गर्ने कर्मचारीको श्रीमतीलाई करणी गरेको आरोप लागेको उद्योगी विराटनगर ३ का दिपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधिश महेन्द्रप्रसाद पोखरेलको इजलासले गौतमलाई मङ्गलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि गौतम पुर्पक्षका लागि जिल्ला कारागार विराटनगर थुनामा गएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गौतम विराटनगर ३ बरगाछीमा सञ्चालित “फस्ट ग्रेभियर” उद्योगका सञ्चालक हुन् । त्यही उद्योगमा कार्यरत एक कर्मचारीको श्रीमतीलाई बैशाख १५ गते गौतमले जवरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित परिवारले १८ वैशाखमा प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले सोही दिन गौतमलाई पक्राउ गरेको हो । गौतमले १५ वैशाखमा उद्योगको बाथरुममा करणी गरेको आरोप लागेको छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “लागूऔषधमा संलग्न २३ पक्राउ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख महिनाभरि २३ जना लागूऔषध कारोबार तथा प्रयोगकर्तालाई पक्राउ गरेको छ । त्यसक्रममा ७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका अनुसार डाइजेल्याव ४ सय ८८ एम्पुल, डाइलेक्स डिसि १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ ट्याब्लेट, नोर्फिन ४ सय ७० एम्पुल, फेनारगन ४ सय ५१ एम्पुल, फेन्सिडिल २ बोतल, स्पास्मो प्रोक्सिभन ४८ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए । वैशाख महिनामा भन्सारबाट हुने गरेको चोरी तस्करीबाट २७ लाख ४४ हजार २ सय १० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, हार्डवेयर र सूर्तीजन्य सामग्री बरामद गरिएको जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “झापामा पेट्रोलियम पदार्थको अभाव” शीर्षकको समाचार छापिएको छ । भारतीय भन्सारमा समय लाग्नाले पूर्वमा ५ दिनयता पेट्रोलियम पदार्थको अभाव दखिएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्यांकरलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् । पाँच दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उनले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए । सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्यांकरलाई रोकिराखेको छ । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्यांकर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताए ।

औजार : आजको औजार दैनिकमा “श्रीमतीद्वारा आफ्नै श्रीमान विरुद्ध उजुरी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको ग्रामीण क्षेत्रमा अझै पनि पुरुषहरुले विवाह दर्ता गर्न र आफ्नै श्रीमतीको नागरिकता बनाउन हिचकिचाएको पाइएको छ । सीमावर्ती र दक्षिणवर्ती क्षेत्रका स्थानीयहरुले आफ्नै श्रीमतीको विवाह दर्ता गराउन हिच्किचाएको पाइएको हो । यो हप्ता मात्रै जिल्ला प्रहरी कार्यालय सुनसरीमा ४ जना विवाहीत महिलाहरुले श्रीमानले नागरिकता र विवाह दर्ता नगराई हिंसा गरेको भन्दै उजुरी गरेका छन् । विवाह भएको ३५ दिनभित्र विवाह दर्ता गराउनुपर्ने भएपनि महिलाको न्यायमा पहुँच नभएकाले विवाह दर्ता नगराइदिएको गुनासो उनीहरुले गरेका छन् । यसैसाता मात्रै देवानगञ्ज गाउँपालिका २ की समलादेवी खत्वेले विवाह भएको पाँच वर्ष बित्दा समेत विवाह दर्ता नगरिदिएको र विवाह दर्ता गरिदिन भन्दा गाली गलौज गरेको भन्दै प्रहरी कार्यालय इनरुवामा उजुरी गरेकी छन् ।