झापा:पूर्वी नाकामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल प्रबेशस गर्न सुरु गरेसँगै पूर्वका जिल्लाहरुमा देखिएको पेट्रोलियम पदार्थ अभावको समस्या क्रमश आजदेखि हट्दै गएको छ । आज बिहानैदेखि पूर्वका पेट्रोलपम्पहरुमा सवारीसाधनको लाम देखिएको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदै गएको थियो । मंगलबार मात्रै पेट्रोलियम पदार्थ बोकेका ७२ वटा ट्याङ्कर भन्सार भएर नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । 

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । मंगलबार दिउँसो देखी पेट्रोल पम्पबाट तेल वितरण हुन थालेपछि पम्पहरुमा सवारीको लाइन देखिएको छ । पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ । भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो ।