धरान: गएको चैत २५ गते धरान १३, जिरोपोइन्टमा भएको भयानक दुर्घटनामा परेर घाइते थप एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएर उपचार पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ का करिब ५२ बर्षीय नरबहादुर परियारको मृत्यु भएको हो । उनको मृत्युसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संखया ६ जना पुगेको छ । चैत २५ गते भएको दुर्घटनामा सोही दिन ५ महिनाको बच्चासहित ४ जनाको मृत्यु भएको थियो भने पछि उपचारको क्रममा थप एक जनाको मृत्यु भएको थियो । घटनामा परि ४ दर्जन बढी घाइते भएका थिए । सोही दुर्घटनामा गम्भीर घाइते ७ बर्षीय भुमिका लिम्बूको अझै पनि काठमाण्डौंमा उपचार भइरहेको छ ।

धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरान आउदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको थियो । धरानको शिवधारा क्षेत्र आइपुगेपछि बस ब्रेकफेल भएको थियो । चालकले थाह पाएर जिरोपोइन्टमा रहेको टेलिकम र विजुलीको पोलमा ठोक्काएर जोगाउन खोज्दा बस पल्टिएको थियो । बस पल्टिएपछि च्यापिएर चालकसहित ४ जनाको मृत्यु भएको थियो ।

उपचारमा वेवास्ता गर्दा मत्यु भएको आरोप

accidents68

मृतक परियारका आफन्तजनले भने उपचारमा वेवास्ता भएको आरोप लगाएका छन् । गम्भीर घाइते भएका परियारको लामो समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचार भएको थियो । उनको एउटा आँखा फुटेको थियो भने टाउकोमा गम्भीर चोट थियो ।

वीपी प्रतिष्ठानको आइसियुमा लामो समय उपचार भएका परियारलाई अस्पतालले आइसियुबाट सर्जरी वार्डमा सारेको थियो । राम्रोसँग होस नै नखुली आइसियुबाट निकालेर हेलचेक्राई गरेको भन्दै मृतकका ज्वाई लालबहादुर मगरले गुनासो पोखे । आइसियुबाट निकालेको केही दिनमा फेरि आइसियु चाहिन्छ, यहाँ छैन भनेपछि विराटनगरको नर्सिङ होममा लैजानु परेको उनले बताए ।

नर्सिङ होममा लगेपछि भने घाइतेको उपचार खर्च व्यवहोर्नुपर्ने पुर्वेली यातायात व्यवसायी सेवा कम्पनीले खर्च सकियो भन्दै अस्पताल र औषधी पसलको विल तिर्न नसक्ने भनेपछि उपचार र औषधी नपाएको बताए । 'संघले भनेको बेला पैसा पठाइदिएन, औषधी पनि नपाएपछि उपचार पनि भएन,'उनले भने,'अनि हामीले बाध्य भएर घर लैजानुपर्यो । घर लगेकै दिन उहाँको मृत्यु भयो ।' संघले दाहसंस्कार खर्च भनेर ५० हजार दिएको छ भने अब मात्र ४ लाख ५० हजार पाउने भनेको उनले बताए ।

यता, कम्पनीका दुर्घटना अधिकृत दिनेश आचार्यले भने उपचारमा कुनै कमी हुन नदिएको दाबी गरे । आइसियुकै लागि विराटनगर उपचार गर्न लगेको भन्दै उनले परियारको उपचारमा मात्र १० लाख खर्च भएको पनि दाबी गरे । 'आइसियुमा भएका अरुको होस आयो, उहाँको लामो समय बित्दा पनि होस आएन । निको हुने अवस्था नभएर परिवारकै सल्लाहमा घर लगेको हो,'उनले भने,'७ बर्षकी भुमिका लिम्बूको आइसियुमा उपचार गर्दा होस आयो, उनलाई हामीले नै काठमाण्डौंमा लगेर थप उपचार गराउदैछौं । हेल्चेक्राई गरेको भन्ने होइन ।'