इनरुवा:सुनसरीको हरिनगर गाउँपालिका क्षेत्रका सर्वसाधरणहरुलाई जग्गाको कारोवारका लागि मालपोत कार्यालयको शाखा हरिनगरामा राख्न माग गरिएको छ ।

यो माग सुनसरी क्षेत्र नं ४ का संघीय संसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा उठाएका हुन् । सांसद कार्कीले संघीय संसदमा बोल्दै दुई लाखभन्दा बढी जनसंख्या भएको सुनसरीको दक्षिणवर्ती क्षेत्रका जनताहरुलाई राहत दिलाउन मालपोतको शाखा हरिनगरामा राख्न माग गरेका हुन् । उनले सदरमुकाम इनरुवासम्म आवतजावत गर्न जनतालाई समस्या हुने भएकाले शाखा विस्तार हुनुपर्ने माग गरे ।

सांसद कार्कीले मालपोत शाखालाई हरिनगरामा स्थापना गरी त्यहीबाट सेवा सुचारु गर्न सरकारले यसै आर्थिक वर्षदेखि काम थाल्नु पर्ने माग गरेका छन् । इनरुवाबाट दक्षिण ठूलो भुभाग रहेको र वर्षाको समय इनरुवा आउन समेत सधै समस्या हुने गरेको भन्दै त्यहाँ जिल्ला प्रशासन कार्यालयको शाखा समेत यसअघि नै स्थापना गरिएको छ । यसैगरी सासद कार्कीले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा सरकारले देशभर विदा दिनु पर्ने माग राख्दै सुनसरीका मुस्लिम समुदायहरुलाई एक महिने रोजा ब्रत पछि मनाईने इदको शुभकामना समेत दिएका छन ।