इटहरी: इटहरीमा पनि रात्रीकालिन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । यही जेष्ठ ३१ गतेबाट इटहरीमा पहिलो पटक रात्रीकालिन क्रिकेट प्रतियोगिता हुने भएको हो ।

रात्रीकालिन क्रिकेटमा ६ वटा टिम सहभागी हुने आयोजक एरिना टिभीका प्रबन्ध निर्देशक समीर कार्कीले जानकारी दिए । उनले बिहीबार पत्रकार सम्मेलनमा भने,‘इटहरीमा पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगितामा ६ वटा टिम सहभागी हुनेछन्, पुरस्कारको राशी के कति राख्ने भन्ने बिषयमा हामी छलफल गरिरहेका छौँ ।’ उनका अनुसार इटहरीको डिभिएम स्कुलको खेल मैदानमा उक्त प्रतियोगिता संचालन हुनेछ ।

प्रदेश १ मा क्रिकेट प्रतियोगिता कमै मात्रामा हुने भएकोले प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए । ‘नेपाललाई क्रिकेट क्षेत्रले बलियो रुपमा परिचय दिएको छ,’ उनले पत्रकार सम्मेलनमा भने,‘इटहरीमा मात्रै नभएर प्रदेश १ मा कमै मात्रामा रात्रीकालिन क्रिकेटको अनुभव भएकाले पनि हामीले रात्रीकालीन क्रिकेटको आयोजना गर्न लागेका हौँ ।’

प्रतियोगितामा नेपाल प्रहरी, शशस्त्र प्रहरी, बिराटनगर, झापा, बेलबारी र आयोजक गरि ६ वटा टिम सहभागी हुने जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष सीपी पौडेलले बताए । उनका अनुसार खेल अत्यन्त रोमान्चक ढंगबाट सम्पन्न हुनेछ । प्रत्येक दिनको साँझमा खेल आयोजना हुनेछ । ‘पहिलोपटक इटहरीमा रात्रीकालीन क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेकाले यो चुनौती त छ नै,’ पौडेलले भने,‘हामीले अहिले लाईट लगाउनको लागि टावरको तयारी गरिरहेका छौँ ।’ विहीबार पत्रकार सम्मेलनमा ट्रफी अनावरण गरिएको थियो ।