विराटनगर: भेट्ने वहानामा बोलाएर प्रेमिकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले अभियुक्त भटराईलाई जन्मकैदसँगै पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति दिने पनि फैसला गरेको हो । पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्ममात्र जेल बस्नुपथ्र्यो । तर नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि भने जन्मकैद फैसला भएकाहरु बाँचुञ्जेल जीवनभर जेलमा बस्नुपर्छ ।

भटराईले २०७५ भदौ १ गते जरुरी काम छ भन्दै भेट्न बोलाएर २३ बर्षीय शिखा घिमिरेको छुरा प्रहार गरी हत्या गरेका थिए । उनले ग्रामथान गाउँपालिका ३ सिद्राहास्थित फलैचामा धारिलो हतियार(छुरा) प्रहार गरी शिखाको निर्मम हत्या गरेका थिए । फलैचामा बसेको बेला दिनेशले टाउको, घाँटी, पेटलगायत शरीरको विभिन्न भागमा छुरा प्रहार गरेका थिए । शिखाको हत्या गर्नुअघि खुट्टाको एलर्जी ठिक हुन्छ भन्दै दिनेशले बिष खुवाएको पनि खुलेको थियो । उक्त घटना देखेपछि गाउँलेहरुले नै घेरा हालेर दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुभाएका थिए ।

दिनेश डिप्रेसनको शिकार थिए । नियमित औषधी सेवन गरिरहेका दिनेश र शिखा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया जाने तयारीमा थिए । भिसा नआएसम्म काठमाडौंमा बसेर ब्युटिपार्लरको तालिम लिने सल्लाह अनुसार शिखा काठमाण्डौं जाने अघिल्लो दिन(भदौ १)मा नै दिनेशले उनको हत्या गरेका थिए ।