धरान: नेपाली कांग्रेसका नगर सभापति तिलक राईले सुर्द जलाधार क्षेत्रको रोक्का राखेको जग्गा फुकुवा गर्न धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले जग्गा व्यापारी तथा भुमाफियासँग बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

काँग्रेसको जागरण अभियानअन्र्तगत धरान ११ स्थित मंगलबारेमा शुक्रबार आयोजना भएको सभामा सभापति राईले यस्तो आरोप लगाएका हुन् । सभापति राईले खानेपानीको मुख्य स्रोत मानिएको सर्दु जलाधार क्षेत्र हडप्ने भुमाफिया र कार्यवाहक मेयर भण्डारीबीचमा ५ कट्ठा जग्गा र २५ लाख रुपैयाबीचमा बार्गेनिङ भइरहेको कुरा सार्वजनिकरुपमा नै चर्चा भइरहेको बताए ।

sardujaladhar

'जलाधार क्षेत्रको छोटीमोरङ डाँडा क्षेत्रमा जग्गा फुकुवा गर्न ५ कट्ठा जग्गा मागेको तर जग्गा व्यापारीहरुले २५ लाख रुपैया दिन्छु भनेको कुरा व्यापकरुपमा सुन्नमा आइरहेको छ,'सभापति राईले भने,'यस्तो नेतृत्वबाट धरानको विकास र समृद्धिको आशा कसरी गर्ने ?' नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले धरानको विकासलाई सही बाटोमा लैजान नसकेको उनको आरोप थियो । खानेपानी आयोजना, एयरपोर्ट निर्माणलाई पनि उपमहानगरपालिका नेतृत्वले अघि बढाउन नसकेको उनले बताए ।

बरु म खोले खान्छु, कलंकित हुनुछैन: कार्यवाहक मेयर

manju-bhandari

कांग्रेस नगर सभापति राईको आरोपबारे कार्यवाहक मेयर भण्डारीले ठाडै अस्वीकार गरिन् । उनले नखाएको बिष नलाग्ने भन्दै भुमाफियाले प्लटिंग गरेर सक्न लागेको जलाधारको जग्गा कार्यवाहक मेयर भएपछि आफुले नै हालसम्म रोक्का राखेको पनि जिकिर गरिन् । 'हिम्मत भए प्रमाण लिएर आउनुपर्यो । मैले कहाँ, को सँग के मागे भनेर । यसरी जे पायो त्यही भनेर हुन्छ ?'कार्यवाहक मेयर भण्डारीले कपुरीन्यूजसँग प्रतिक्रिया दिदै भनिन्,'त्यो जग्गा मैले रोक्का नगरेको भए अहिले के भइसक्थ्यो ? बरु म खोले खाएर बस्छु, तर कलंकित हुनुछैन ।'

उनले जग्गा व्यापारीहरु जलाधार क्षेत्रको जग्गा फुकुवा गर्न भनेर दबाब दिन आउदा हप्काएर पठाएको र अहिले तिनीहरु नै आफ्नो वद्नाम गर्न लागेको बताइन् । 'जलाधार धरानको आत्मा हो, यो प्रकृतिलाई जोगाउनुपर्छ,'उनले भनिन्,'मैले खाएको बिष पो लाग्ने हो, नखाएको बिष कसरी लाग्छ ?'