धरान: नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले धराने जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

धरान ११, मंगलबारेमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दे आचार्यले धरानलाई एक बर्षअघिदेखि मेयरविहिन बनाउन प्रधानमन्त्री ओलीको हात रहेको भन्दै उनले तत्काल चुनाव गराउन पनि माग गरे । उनले धराने जनतालाई आफ्नो जनप्रतिनिधि चुन्ने अधिकारबाट बञ्चित गराएकोले धरानेजनतसँग प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने बताएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले धरानमा मेयर तारा सुब्बाको निधन भएपछि कार्यवाहक मेयरले सहीढंगले नेतृत्व गर्न नसकेकोले विकास निर्माणको कामहरु प्रभावित भएको पनि बताए । सरकारले चाडो उपनिर्वाचन गराउनुपर्ने उनले जोडदार माग गरे । मेयरको निधन पछि उपनिर्वाचन नगरेर सरकारले धराने जनतालाई जनप्रतिनिधि चुन्ने अधिकारबाट बञ्चित गराएको उनले बताए ।

अर्को एक प्रसंगमा नेता आचार्यले ओली नेतृत्वको सरकार कमजोर भएको बताए । साथै, उनले ओली म्यादी प्रधानमन्त्री भएको पनि टिप्पणी गरेका छन् । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले सरकार चलाउन नसकेको कारणले नै आफु भावी प्रधानमन्त्री भएको दाबी गरेको बताए ।