धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचन कार्यतालिका अनुसार सदस्यता नवीकरण गर्ने अन्तिम म्याद बिहिबारसम्म कुल १७४८ जनाको सदस्यता नवीकरण भएको छ ।

निर्वाचन उपसमितिले शुक्रबार १२ बजे नवीकरण भएका सदस्यहरुको मतदाता नामावली प्रकाशन गरिसकेको छ । ती मध्ये सबैभन्दा बढी मतदाता वाणिज्यतर्फ छन् । वाणिज्यमा १०४६ मतदाता छन् भने उद्योगतर्फ कुल ५९५ जना रहेका छन् । यस्तै, एशोसिएटमा ९१ जना र वस्तुगतमा १६ जनाले सदस्यता नवीकरण भएको संघका अध्यक्ष राजेन्द्र साहले जानकारी दिए ।

मतदाता नामावलीमा आज शनिबार ४ बजेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माका अनुसार मतदाता नामावली प्रकाशन भएको र शनिबार ४ बजेसम्म कसैले दाबी वा विरोध गरेमा ती सदस्यहरुको बिषयमा थप निर्णय गरिने बताए । दाबी विरोध नभए मतदाताको अन्तिम नामावाली प्रकाशन साढे ४ बजे हुने उनले बताए । निर्वाचन कार्यतालिका अनुसार जेठ २० गते सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्ने रहेको छ भने जेठ २७ गते मतदान गर्ने तालिका छ ।

एशोसिएट मतदाता सदस्यमा लफडा

sunsari-udhyog-banijyaa 1

निर्वाचन मिति नजिकिदै गर्दा एशोसिएटतर्फ मतदाता बढाउन सदस्य नवीकरण गर्ने अन्तिम दिन कुलपुजी बढाउन नियम र प्रक्रिया विपरीत धरान उपमहानगरपालिकाबाट कुलपुँजी बढाएको पत्र लगिएको भन्दै विवाद उत्पन्न भएको छ । उपमहानगरपालिकाबाट कुलपुजी बृद्धि भएको ३४ वटा पत्र लगिएको थियो । ती मध्ये १५ वटा कागज शंकास्पद छ । शंकास्पद १५ वटा मध्ये ३ वटा रद्द भएको छ भने १२ वटा स्वीकृत भएको छ ।

तर १२ वटा पनि नवीकरणको अन्तिम दिनको पनि समय सकिनै लाग्दा पुर्याइएकोले प्रक्रिया पुगे वा नपुगेको छानबिन हुन नपाएको संघ स्रोतले जनाएको छ । ‘३४ वटा नगरपालिकाको पत्रसहित आएको थियो । १९ वटा घरेलु र वाणिज्य विभागको पनि कागजसहित आएकोले सहजै स्वीकृत भयो । तर, बाँकी १५ वटा शंकास्पद छ । ३ वटा त रद्द नै भयो,’संघ स्रोतले भन्यो,‘समय घर्किनै लाग्दा कागजपत्र ल्यायो, सबै ठिक छकि छैन भनेर हेर्न पाएनौं ।’

udhyog-banijya

समय बितेपछि सबै कागजपत्र निर्वाचन समितिले लगेको कारण पुजीवृद्धि गरिएको कागजपत्र ठिक छ कि छैन भनेर पुष्टि हुन बाँकी छ । संघमा एशोसिएटतर्फ सदस्य हुनलाई कुलपुजी ५० लाख हुनुपर्ने प्रावधान छ । कुनै पनि व्यवसायिक फर्मको कुलपँुजी कति हो भनेर प्रमाणित गरिदिने निकाय घरेलु तथा साना उद्योग कार्यालय हो । घरेलु तथा साना उद्योग कार्यालय इटहरीका प्रमुख मोही नारायण साहका अनुसार कुलपुजी कति हो भनेर घरेलुले दिने प्रमाणपत्रमा नै उल्लेख गरिएको हुन्छ भने पुजीवृद्धि भएको हो भने पनि घरेलुमा निवेदन दिएपछि मात्र प्रमाणित गरिने उनले बताए । ‘नगरपालिकाले व्यवसाय दर्ता मात्र गर्ने हो, कुलपुजी कति हो भनेर प्रमाणित गरिदिने वा कुलपुजी वृद्धि भएको प्रमाणपत्र दिने निकाय घरेलु मात्र हो,’साहले भने,‘कुलपुजी वृद्धि गर्नुपरे पहिला यहाँ निवेदन दिनुपर्छ, र मात्र हुन्छ ।’

एशोसिएटमा मतदाता बढाउनकै लागि उपमहानरपालिकाको कर्मचारीसँग मिलेर नियमविपरीत कुलपुजी बढाएको पत्र लगिएको आरोप छ । पुजीवृद्धिको पत्रलाई उपमहानगरपालिकाका वरिष्ठ राजश्व तथा सुचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले प्रमाणित गरिदिएका छन् । कतिपय पत्रमा त उनको हस्ताक्षर पनि नभएकोले एशोसिएततर्फ मतदाता बढाउनको लागि मिलेमतोमा नै यो काम भएको स्रोतको दाबी छ । यता, खतिवडाले भने पुजी प्रमाणित गरेको नभै कायम गर्दिनु भनेर माग गर्नेहरुलाई लेखेर दिएको बताए । ‘निवेदकले माग गरेवमोजिमको पुजी कायम गरेर दिएको हो, उसले कहाँ के प्रयोजनमा लैजान्छ त्यो थाह भएन,’उनले भने,‘हस्ताक्षर नभएको पत्र छ भने थाह भएन ।’