धरान: डेंगुको प्रकोप नियन्त्रण हुनुको सट्टा धरानमा झन् बढ्दै गएको छ । पछिल्लो पटक धरानमा डेंगुका ७३ जना विरामी अस्पताल भर्ना भएको पुष्टि भएको छ ।

यो संख्या धरानमा १९ दिनको अन्तरालमा भेटिएको हो । ती विरामीहरुमध्ये ६० जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका हुन् भने १३ जना विजयपुर हस्पिटलमा भर्ना भएर उपचार गरेको दुवै अस्पतालले पुष्टि गरेको छ । अस्पतालसम्म नआइपुगेका डेंगु विरामीको संख्या अझै धेरै हुनसक्ने चिकित्सकहरु बताउँछन् । रोग प्रतिरोध क्षमता बढी भएकाहरुमा डेंगु भए पनि अस्पतालसम्म उपचार गराउन पुग्दैनन् ।

डेंगुको प्रकोप बढेपछि धरान उपमहानगरपालिकासँग मिलेर वीपी प्रतिष्ठानले र्यापिड रेस्पोन्स टिम गठन गरेका जानकारी दिएको छ । यो टिमले उपमहानगरसँग मिलेर समुदायस्तरमा पुगेर डेंगुको अण्डा र लार्भा नष्ट गर्ने अभियान शुरुवात गरेको पनि प्रतिष्ठानले जनाएको छ ।

dengue-foging

डेंगुको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले ४ वटा फगिङ मेशिन खरीद गरेको छ । शुक्रबार साँझ आइपुगेको मेशिनबाट आज बिहानैदेखि औषधी मिसाएर धुँवा छर्ने काम शुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जानकारी दिए । ‘मेशिन ४ वटा खरीद गरेर ल्याएका छौं, आज बिहानैबाट फगिङ गर्ने काम थालिसक्यौं,’उनले भने ।

नयाँ मेशिनले पछिल्लो पटक डेंगु रोगी देखिएको वडा नं ८ को विभिन्न टोल र वस्तीमा फगिङ गरिएको उनले जानकारी दिए । उपमहानगरले यो फगिङ मेशिन काठमाण्डौंबाट खरीद गरेको हो । अहिलेसम्म उपमहानगरपालिकासँग मेशिन थिएन । वीपी प्रतिष्ठानसँग भएको २ वटा मेशिन मागेर फगिङ गरिरहेको थियो ।

dengue-fogging1