इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कृषकमा आइपर्ने समस्याको सम्बोधन हुने बताएका छन् ।

शनिबार इटहरी १ मा ५ टन क्षमताको धूलो दूधको कारखाना सञ्चालन गर्नका लागि शिलान्यास गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन । ‘देश नयाँ प्रणालीमा गएपछि किसानको समस्या सम्बोधन हुन्छ, उनले भने, ‘अहिले तीनै तहका सरकारले किसानका समस्या सम्बोधन गरिएको छ, देशमा जनता अधिकार सम्पन्न भएका छन् ।’ मुख्यमन्त्री राईले १९ औँ बिश्व दूध दिवसरको अवसरमा कामधेनु दूग्ध विकास सहकारी संस्थामा मिल्क पाउडर प्लान्ट र सञ्चालन परियोजनाको शिलान्यास गरेका थिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले २० करोड लागत अनुदान दिएको बताए । उनले भने, ‘हामीले प्रदेश सरकारबाट यो भवन निर्माण गर्नका लागि २० करोड लागत अनुदान दिएका छौँ । ५ करोड उपलब्ध गराईसकेका छौँ, अरु उपलब्ध गराउने तयारी भईरहेको छ ।’ मुख्यमन्त्री राईले कृषकहरुलाई निरन्तर यो क्षेत्रमा लाग्न प्रोत्साहन मिल्ने पनि बताए ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट उपलब्ध गराएको मुख्यमन्त्री राईको भनाई थियो । आगामी दिनमा पनि कृषकका आवश्यकता र समस्या सम्बोधन हुने उनले बताए । उनले भने, ‘प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट नयाँ ढंगले कृषि केन्द्रीत बजेट ल्याउने तयारीमा छ ।’ कृषिलाई मुख्य मेरुदण्डका रुपमा राखेको बताउँदै उनले अब कृषकले चिन्ता र द्धिविधा गर्ने दिन परिवर्तन भएको दाबी गरे ।
एक विगाहा क्षेत्रफलमा २८ करोड ६१ लाख २३ हजार ७० रुपैँया लागतमा भवन तथा प्लान्ट निर्माण हुने कामधेनुका अध्यक्ष बाबुराम खत्रीले बताए । उनले कृषि क्षेत्रमा चुनौती रहेको भएपनि सम्भावना ज्यादै भएकाले कृषकले ढुक्क भएर काम गर्नुपर्नेमा विश्वास दिलाए ।