काठमाडौं : एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुलाउनु पर्ने, म्यानपावरले राखेको धरौटीमा ब्याज पाउनुपर्ने लगायत माग पूरा नभएपछि वैदेशिक रोजगार ब्यवसायीले कामदार विदेश पठाउन रोकेका छन् ।

बैदेशिक रोजगार ब्यवसायी संघको आब्हानमा म्यानपावर एजेन्सीहरुले कामदार पठाउन रोकेपछि शुक्रबारदेखि कोहीपनि बैदेशिक रोजगारमा जान नपाएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।

‘हामीले सरकारलाई ६ बुँदे माग राखी बुझाएको ज्ञापनपत्र सुनुवाई नभएपछि कामदार नपठाउने निर्णय गरेका हौं,’ गुरुङले भने, ‘यो निर्णय जेठ २३ सम्म लागू हुनेछ । त्यसपछि पनि सरकारले हाम्रा जायज माग पूरा गरेन भने सशक्त विरोधका कार्यक्रम अघि बढाउनेछौं ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोहोर जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द राखेको छ । मलेसिया रोजगारसम्बद्ध संस्थाले कामदारसँग अतिरिक्त रकम लिएको भन्दै कामदार पठाउन रोकेको मन्त्रालयले कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी(एमओयू) गरिसकेको छ । –नागरिक दैनिकबाट