धरान: तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि २०५८ जेठ १९ मा भएको हत्याकाण्ड अहिलेसम्म कसले गराएको हो भन्ने आमनेपालीहरुको सर्वाधिक चासो र खुल्दुलीको बिषय छ । यो हत्याकाण्डबारे धेरै कोणबाट कुराहरु आए, तथ्यहरुमा बहस भए । तत्कालिन युवराज दीपेन्द्रले नै आफ्नो वंशनाश गरेको भनियो । तर, नेपालीहरु भने अझै पनि यो कुरा मान्न तयार छैनन् ।

तत्कालिन समयमा गठन भएको छानबिन समितिले पनि दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको रिपोर्ट दिएको थियो । तर, हत्याकाण्ड सेलाउन नपाउदै अमेरिकी एक म्यागेजिनले भने सन् २००२ को सेप्टेम्बर २१ मा नै एउटा रिपोर्ट छापेको थियो, जसमा अमेरिकी गुप्तचर संस्था (सिआइए) र भारतीय गुप्तचर संस्था (रअ) मिलेर यो हत्याकाण्ड गरेको दाबी गरेको थियो । त्यसमा नेपाली सेनाको एक समूह पनि मिलेको दाबी थियो ।

अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युमा वेन म्याडसेनले'कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स : कराकस एन्ड काठमाडौ' शीर्षकमा फिचर लेखेका थिए । जसमा उनले अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो साबेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको उल्लेख गरेका छन् । त्यो रणनीति भेनेजुयेलामा असफल र तर नेपालमा सफल भएको फिचरमा लेखिएको छ ।

माओवादीसँग वार्ता र राष्ट्रवादी

तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर सिआइएले गरेको म्यागाजिनले लेखेको छ । मन्थ्ली रिभ्युका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि नेपालमा सिआइएले एक कार्यालय स्थापना गर्‍यो । यो कार्यालय स्थापनासँगै अमेरिकाबाट अमेरिकी सेनाका स्पेसन अपरेसन्स फोर्सेसका सदस्य नेपाल आएका थिए । उनीहरुले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले ।

अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको म्यागाजिनले लेखेको छ । अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसन्सका सदस्य पनि सहभागी थिए । यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको म्यागाजिनले लेखेको छ ।

सुरुमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको म्यागाजिनले लेखेको छ । दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम दिएका नेपाली सैनिक कमान्डोले काम गरेको म्यागाजिनमा लेखिएको छ । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक कु भएको म्यागाजिनले लेखेको छ । यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेको म्यागाजिनले लेखेको छ ।

‘ज्ञानेन्द्र सिआइएका सहयोगी थिए’

दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाह अमेरिकी गुप्तचर निकाय सिआइएका सहयोगी भएको म्यागाजिनले दाबी गरेको छ । रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको सम्बन्ध भएको पिचरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रको सन् १९७० देखिकै सम्बन्ध भएको म्यागाजिनले लेखेको छ । दरबार हत्याकाण्डको डिजाइनमा बनाइएको महाराजगन्जस्थित सिआइएको अफिस पनि ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ । दरबार हत्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनु रहस्य भएको म्यागाजिनले लेखेको छ । साभारःनेपालसमाय