धरान: पोथी लामखुट्टेबाट मानिसमा संक्रमण हुने डेंगु ज्वरोका विरामीको संख्या धरानमा बढेको बढ्यै छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार गराउने डेंगुका विरामी ७७ जना पुगेको छ । डेंगु काबुबाहिर भएपछि वीपी प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्यापिड रेस्पोन्स टिमको बैठक अहिले बसिरहेको छ । यो टोलीले डेंगु नियन्त्रणको लागि थप योजना तय गर्ने बताइएको छ । ‘रेस्पोन्स टिमको बैठक शुरु भएको छ, हामी कसरी अघि बढ्ने भनेर थप योजना बनाउछौं,’उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने ।

dengue

डेंगुको प्रकोप बढेपछि प्रतिष्ठानमा विरामीहरुलाई राखेर उपचार गराउने बेडको पनि अभाव भएको जनाएको छ । प्रतिष्ठानमा मेडिसिन वार्डमा विरामी राखेर उपचार गर्न बेड अभाव छ । तत्काललाई इर्मजेन्सीमा नै राखेर डेंगुका विरामीलाई पनि उपचार गर्नुपरिरहेको रेस्पोन्स टिमका सदस्य एवं प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले बताए । ‘विरामी थपिएको थपिएकै छ, मेडिसिन वार्डमा बेड छैन । जनप्रतिनिधिहरुले अलिक गम्भीर भएर लाग्नुुपर्ने बेला भयो,’उनले भने,‘वडा वडामा टिम बनाएर घर घरमा पुगेर मच्छडको अण्डा र लार्भा नष्ट नगरी हुदैन । प्राविधिकरुपमा वीपीको विज्ञ टोलीले सघाउन तयार छ ।’ रेस्पोन्स टिमले थप योजना बनाएर प्रभावकारीरुपमा अघि बढ्ने तयारी भइरहेको उनले बताए ।