सुनसरी:इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले झुठा मुद्दामा निर्दोषलाई फसाउन लागेको भन्दै साँस्कृतिक अधिकार संरक्षण समितिले विरोध जनाएको छ ।

समितिले एक विज्ञप्ती जारी गर्दै प्रहरीले झुटो आरोप लगाएर मुद्दा दर्ता गरेको जनाएको छ । प्रहरीले बराहक्षेत्र नगरपालिका वडा–३ नडाहा निवासी मीना शेर्पा)(३४ वर्ष), आशिक राई(२६ वर्ष) र तिलक राई(४७ वर्ष)लाई गोरु काटेको झुटो आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘आरोपितहरुले गोरु काटेको नभइ जङ्गलमा मरेको अवस्थामा भेटेको गोरुलाई चारो प्रयोजनको लागि ल्याएको बताउँदा पनि अनुसन्धानको नाममा म्याद थप गरि आरोपितहरुलाई फसाउने काम गरिएकोले उक्त कार्यप्रति आपत्ति जनाउँछौं ।’

समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको हस्ताक्षर रहेको विज्ञप्तिमा प्रहरी निरिक्षक जीवन तामाङको उक्त गैर न्यायिक र फसाउने नियतले थालिएको अनुसन्धानप्रति ध्यानाकर्षण भएको उल्लेख छ । ‘अनुसन्धानको नाममा दुःख दिने नियतले थालेको अनुसन्धानले सिङ्गो प्रहरी सङ्गठनमा नकरात्मक प्रभाव पर्ने भएकोले नेपाल प्रहरी प्रधान कार्यालयको पनि ध्यानाकर्षण गराउन चाहन्छौ,’विज्ञप्तीमा भनिएको छ । आरोपितहरुलाई जेठ–१७ गते पक्राउ गरिएको थियो ।