काठमाडौं : आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ ।

पछिल्ला चार दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला चार दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरुका दुई महिनामा भए बराबर हो । महालेखा नियन्त्रकका अनुसार चालु आवको पहिलो दुई महिना (साउन–भदौ) मा ६ अर्ब ८५ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो ।

आर्थिक कार्य्विधि नियमावलीमा आवको अन्तिम महिनामा २० प्रतिशतभन्दा बढी खर्च गर्न नपाउने प्रावधान छ । जेठको मध्यम समयमा पुँजीगत खर्च जम्मा ४४.९१ प्रतिशत छ । कुल विनियोजन गरिएको ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख पुँजीगत बजेटमध्ये एक खर्ब ४१ अर्ब ६६ करोड १६ लाख रुपैयाँमात्र खर्च भएको छ ।

अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत विनियोजित बजेटको ८४.५ प्रतिशतमात्रै पुँजीगत खर्च गर्ने नयाँ लक्ष्य लिएको थियो । यसका लागि दैनिक ६ अर्ब दुई करोड २७ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यसरी नै खर्च भए असारमा २० प्रतिशत खर्च सीमा नाघ्ने देखिन्छ । २० प्रतिशतभन्दा नाघेमा वित्तीय अनुशासनको बर्खिलाप हुने कानुनी व्यवस्था छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट