भद्रपुर : नेपाल–भारतको सीमाको भारतीय भूमिमा बिष्फोटक पदार्थसहित एक नेपाली पक्राउ परेका छन् ।

काँकडभिट्टा–पानीटंकी नाकामा तैनाथ भारतीय एसएसबीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो । एसएसबीले राईको साथबाट बिस्फोटक पदार्थ नेगेल ९९०० को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोवाइल फोनलगायतका सामग्री बरामद गरेको जनाइएको छ ।

मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा बिस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमाण्डर राजीव राणाले जानकारी दिए । बिस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको कमाण्डर राणाले बताए ।