धरान: धरान इटहरी सडक खण्डमा रोकी राखेको ट्रकमा ठोक्किएर मृत्यु हुने स्कुटी चालक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्स भएको खुलेको छ ।

उनी गाइनो विभागको इर्मेजेन्सीमा कार्यरत करिब २५ बर्षीय स्टाफ नर्स कविता तुम्बा भएको खुलेको छ । रातीको डिउटीमा आउदै गर्दा उनको दुर्घटना परेर मृत्यु भएको हो । प्रतिष्ठानका असिस्टेन्ट डाइरेक्टर डा.विकास साहले मृतक तुम्बा गाइनो इर्मेजेन्सीमा कार्यरत नर्स भएको पुष्टि गरे ।  इटहरी १ तरहरास्थित आपगाछी घरबाट सोमबार साँझ धरान आउदै गर्दा दुर्घटनामा परेकी थिइन् । गम्भीर घाइते भएकी तुम्बाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख होमराज दाहालका अनुसार को २६ प ८५१ नंम्बरको स्कुटीमा तुम्बा धरानतर्फ आइरहेकी थिइन् । सोही दिशामा धरानतर्फ आउदै गर्दा तेल सकेर रोकेर राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकको मुनि तुम्बाको स्कुटी छिरेर दुर्घटना भएको थियो ।