धरान: इटहरी धरान सडकखण्डमा सोमबार राती दुर्घटनामा परी निधन भएकी स्टाफ नर्स कविता तुम्बाप्रति सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्ने क्रम बढीरहेको छ ।

कतिले अझै पनि दुर्घटनामा उनको निधन भएको कुरा पत्याउन गाह्रो परेको लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्नेहरुको भिडमा एउटा स्टाटस मार्मिक छ । सोनिया सोयोङ बान्तवा राईले कविताको सम्झनामा मार्मिक स्टाटस लेखेकी हुन् ।

उनले लेखेकी छिन्,‘कविता दिदी ! तिम्रा बाबा आमा र तिमीले देखेका हरेक सपना पुरा गर्नका लागि तिमीले त्यो ३ बर्ष भोकभोकै बिहान ६ बजेदेखि साँझको ४ बजेसम्म क्लास एटेण्ड गर्यौ, अनि कयौं त्यस्ता नाइट सिफ्ट जहाँ विरामी सेवा(मेडिकेशन, केयर प्रोभाइड) गरिसके पछि भोलीको हेल्थ टिचिङ, प्रेजेन्टेसन, केस स्टडी जस्ता कुराको लागि प्रिपेरेशन गर्दा गर्दै धेरै पटक बिहानको ६ पनि बजे होलान्..जब आजभोली अलि आनन्दको सास फेरि रहेको थियौं, दैबले तिम्रो खुशी देख्न सकेन, दिदी तिम्रो आत्माले शान्ति पाओस् ! ’

Screenshot

तेल सकेको भनेर सडकमा नै रोकी राखेको ट्रकमा सोमबार राती स्कुटी ठोक्किएर कविताको मृत्यु भएको थियो । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थिइन् । उनी त्यसबेला प्रतिष्ठानमा नाइट डिउटीको लागि धरानतर्फ आइरहेकी थिइन् । प्रतिष्ठानको गाइनो विभागको इर्मेजेन्सीमा कार्यरत उनी घरबाट स्टाफ नर्सको ड्रेसमा धरानतर्फ आइरहेकी थिइन् । इटहरी १ तरहरास्थित आपगाछी घरबाट सोमबार धरान आउदै करिब ८ बजेको समय आसपासमा उनको स्कुटी दुर्घटनामा परेको थियो । गम्भीर घाइते भएकी तुम्बाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुम्बा को २६ प ८५१ नंम्बरको स्कुटीमा तुम्बा धरानतर्फ आइरहेकी थिइन् । सोही दिशामा धरानतर्फ आउदै गर्दा तेल सकेर रोकेर राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकको मुनि तुम्बाको स्कुटी छिरेर दुर्घटना भएको थियो । तेल सकेर सडकमै रोकिराखेको ट्रकमा कुनै संकेत वा रिफ्लेक्टर थिएन । त्यसैले स्कुटी ट्रकको पछाडि ठोक्किएको बताइएको छ ।