पथरी: मोरङ्गको कानेपोखरी गाँउपालिकाले आफ्नो क्षेत्रमा रहेको विभिन्न खेलका खेलाडी पहिचान गर्न अभियान सु्रु गर्ने भएको छ ।

खेलकुद क्षेत्रको विकास, प्रर्वद्धन तथा स्थानीय खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले जेठ २५ गतेदेखी असार १ गतेसम्म विभिन्न ९ खेलका विधाहरुमा प्रतियोगिता हुुने भएको हो । खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा हुने प्रतियोगितावाट नयाँ पुस्ताका खेलाडीको खोजी गरिने खेलकुद विकास समितीका संयोजक भुपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार फुटवल, भलिवल, क्रिकेट, व्याटमिटन, एथलेटिक्स, मिनी म्याराथुन, वुद्धिचाल र महिला फुटवल प्रतियोगिता आयोजना गरेर कानेपोखरीको खेल विकास गर्न लागिएको हो । कानेपोखरीका ७ वटै वडाको प्रतिनिधित्व गरी खेलाडीले विभिन्न प्रतियोगीतामा सहभागी हुने श्रेष्ठले जनाए ।

फुटवल खेलको संयोजन वडा नम्वर ७ को मितेरी युवा क्लवले गर्ने भएको छ भने भलिवल खेल वडा नम्वर ६ मा हुने भएको छ । व्याटमिटन स्थानीय जनसेवा माध्यामिक विद्यालयमा हुने भएको हो । खेलकुदको विकासका लागी पहिलो पटक कानेपोखरी गाँउपालिकाले वृहत खेलकुद प्रतियोगिता आयोजना गरेर नयाँ खेलाडीको पहिचान गर्न लागेको कानेपोखरी गाँउपालिका अध्यक्ष तारावहादुर काफ्ले वताउँछन् ।

नयाँ र प्रतिभावान खेलाडीको पहिचान हुन नसक्दा ती खेलाडी राष्ट्रिय तथा अन्य प्रतियोगीतामा सहभागी हुन कठिनाइ भएकोले पनि सवै खेलको प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितीका सचिव एकिन्द्र पाठकले वताए । प्रतियोगीता अन्तरगत फुटवलमा प्रथम हुने वडाले ८० हजार र दितियले ५० हजार पाउनेछन भने भलिवलको विजेताले ५१ हजार नगद र उपविजेताले ३० हजार नगद प्राप्त गर्ने छ ।