ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “आरुबोटे हत्याकाण्डः प्रहरी भन्छ, “हत्यामा एउटै व्यक्ति” शीर्षकको समाचार छापिएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा जेठ ७ गते भएको हत्याकाण्ड एउटै व्यक्तिबाट भएको प्रहरीको निष्कर्ष छ । घटनाको २ हप्ता बित्दा प्रहरीको अनुसन्धानले एउटै व्यक्तिको संलग्नता रहेको देखाएको हो । घटनाको प्रकृति र घाइतेको बयानका आधारमा एउटै व्यक्तिको संलग्नता रहेका प्रहरीको भनाई छ । हत्याको आशंका गरिएका मृतक बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमका पनि मिक्लाजुङ ८ को जङ्गलमा झुण्डिएको अवस्थामा शव परेको थियो । दुई परिवारका ९जनाको विभत्स तरिकाले हत्या भएको थियो । घटनामा आशंका गरिएका मानबहादुरको पनि मृत अवस्थामा शव फेला परेपछि घटना रहस्यमय भएको थियो । तर, अनुसन्धानमा खटिएको प्रहरीले मानबहादुरले नै हत्या गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले घटना एउटै व्यक्तिले घटाएको बताए ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश १ का स्थानीय भाषा लिपिविहीन” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेश १ का स्थानीयले बोल्ने अधिकांश भाषामा लिपि, शब्दकोश र व्याकरणको अभाव छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलको अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । मन्त्रालयले गठन गरेको स्थानीय भाषा विकास कार्यदलले २०७५ चैत्र १८ गतेदेखि ४५ दिनसम्म अध्ययन गरेको थियो । प्रदेश १ को स्थानीय भाषाहरुको अवस्थासंगै सुझावसमेत पेश गरेको छ । कार्यदलको प्रतिवेदनअनुसार प्रदेश १ मा १ सय ६ वटा भाषा बोल्ने गरिएको छ । प्रदेशमा २६ हजार वक्ताहरुमो भाषा अन्योलमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलले सुर्जापुरी, देवान बातर, विराट राजवंशीलगायतका सूचीकृत हुन बाकी रहेका भाषाहरुलाई सूचीकृत गरी अधययन गर्न सुझाव दिएको छ । त्यसैगरी २०६८ सालको जनगणनामा राई भाषालाई छुट्टै भाषाका रुपमा सूचिकृत गरिए पनि त्या नामको भाषा नभएकाले हटाउन सुझाव दिएको छ ।

औजार : आजको औजार दैनिकमा “कमल गाउँपालिकाका व्यवसायीहरुबीच अन्तरक्रिया” शीर्षकको समाचार छापिएको छ । झापाको कमल गाउँपालिकाभित्र रहेका व्यवसायीहरुबीच अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना र झापा उद्योग वाणिज्य संघ कमलगाउँपालिकाको व्यवस्थापनमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले गाउँपालिकामा रहेका व्यवसायीहरुले एकता गरी विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । गाउँपालिकाले कृषि उद्योग अन्तरगत कुखुरा, गाई पालन, तरकारी उत्पादन जस्ता कार्यक्रम जोड दिएको समेत जानकारी दिइन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रदेश २ मा लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शन” शीर्षकको समाचार छापिएको छ । लोकसेवा आयोगले केही दिनअगाडि प्रकाशित गरेको विज्ञापनको विरुद्धमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा जेठ १५ मा प्रकाशित गरेको विज्ञापनप्रति असन्तृष्टि जनाउदै युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको भानुचोकमा प्रदर्शन गरेका हुन् । लाइन्स क्लब र जनकपुर युथ एक्सन फोर्सको संयुक्त आयोजनामा भएको प्रदर्शनका सहभागीहरुले लोकसेवा विज्ञापन फिर्ता गर, लोकसेवा आयोग मुर्दावादलगायतको नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदेश २ का लागि आयोगले प्रकाशित गरेको विज्ञापनमा समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई कुल्चेको भन्दै लोकसेवाका प्रमुख उमेसप्रसाद मैनाली र सामान्य प्रसासनमन्त्री लालबाबु पण्डितविरुद्ध नाराबाजी गरेका हुन् ।