धरान: डेंगु प्रकोप नियन्त्रण बाहिर गएपछि बल्ल धरानमा वृहत जनपरिचालन अभियान शुरु भएको छ ।

महामारीकोरुप लिन सक्ने देखिएपनि जनप्रतिनिधिहरु सक्रिय नभएको सर्वत्र आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि डेंगु नियन्त्रणको लागि वृहत अभियान शुरुवात भएको हो । धरान उपमहानगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर आज बिहानै जनचेतनामुलक र्याली निकालेको थियो । माइकिङसहितको र्याली भानुचोक हुदै बरगाछीसम्म पुगेको थियो । त्यसक्रममा सडक किनारमा भएको मोटरसाइकल वर्कसप तथा ग्यारेजहरुमा राखिएको टायरमा पानी जम्मा भएको र लामखुट्टेको अण्डा, लार्भा भेटिएको र्यापिड रेस्पोन्स टिमका संयोजक एवं वीपी प्रतिष्ठानका डा.विजयकुमार खनालले जानकारी दिए ।

जनचेतनामुलक र्यालीमा सुनसरी जिल्लाका सहायक सिडिओ ध्रुवकुमार खड्का पनि सहभागी भएका थिए । यस्तै, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न वडा कार्यालय, संघसंस्था र विद्यालयहरुको पनि सहभागिता रहेको थियो । आज वृहतरुपमा जनचेतना र्याली भएको र अब प्रत्येक वडा कार्यालयहरुले वडामा पनि जनपरिचालन गरेर लामखुट्टेको अण्डा र लार्भा मार्ने अभियान शुरु गर्ने कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘घर घरमा पुगेर जम्मा भएको पानी फाल्न लगाउने, पानी जम्ने टायर, बोतल र गिलासहरुलाई पनि नष्ट गर्ने अभियान चल्छ,’उनले भनिन् ।

धरानमा बैशाख ३१ गतेदेखि नै डेंगुका विरामी देखिन थालेको थियो । आजसम्म २ सय बढी डेंगुका विरामी भेटिइसकेका छन् । प्रि मनसुनमा देखिएको प्रकोप नियन्त्रणमा नआए मनसुन पछि थप महामारीको रुप लिने भन्दै चिकित्सकहरु चिन्तित छन् । यसअघि र्यापिड रेस्पोन्स टिमले केही वडाहरुमा प्रशिक्षण गरेर लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्ने कार्य गरेको थियो ।