इटहरी:इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पटक–पटक पत्रकारलाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघ सुनसरीले गम्भीर आपत्ति जनाएको छ ।

महासंघको बुधबार बसेको बैठकले पत्रकारलाई पटक–पटक धम्की दिएको र दुव्र्यवहार गरेको घटनाप्रति उपमहागरपालिकाले गरेको कुनै पनि औपचारिक कार्यक्रममा पत्रकारहरु सहभागी नहुने निर्णय गरेको पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जानकारी दिए । बुधबार साँझ इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘इटहरी उपमहानगरपालिकाको समग्र कार्यक्रममा उपस्थित नहुने निर्णय गरेका छौं । प्रेसप्रतिको दृष्टिकोण के हो भन्ने बिषयमा सार्वजनिक गर्न पनि हामी माग गर्दछौँ ।’

सुनसरीमा विशेष गरेर इटहरीका पत्रकारमा असुरक्षा बढेकोले पूर्णरुपमा सुरक्षित हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा ध्यानाकर्षण पत्र समेत बुझाइएको अध्यक्ष खड्काले बताए । सुरक्षाको वातावरण सृजना गर्न महासंघले माग गरेको छ । मंगलबार राती धरानका पत्रकार दिलबहादुर राईमाथि भएको आक्रमणका दोषीलाई पनि कडा कारवाही गर्नुपर्ने उनको माग थियो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईँटेलले मंगलबार पत्रकार विराट गौतमलाई मेयरले ‘नाकको डाडीँ भाँच्न बाँकी छ’ भन्दै दिएको धम्की अति निन्दनीय रहेको बताए । उनले भने,‘जिम्मेवारी बोकेका व्यक्तिले बोलेको यस्ता कुरा अति निन्दनीय छ, मेयरमाथि कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

उनका अनुसार पत्रकार आचारसंहिता खराब भएको भए उजुरी दिनुपर्ने र कसैले पत्रकार गलत भएको बिषयमा उजुरी दिएको खण्डमा पुष्टी भए महासंघले कारबाही गर्ने प्रतिबद्धता जायर गरे । लुईटेलले भने,‘अहिले सिंगो प्रेस जगतमा असुरक्षा बढेको छ । मेयरले कानुन मान्दिन भन्ने अभिव्यक्तिले त्रास बढाएको छ ।’ उनका अनुसार मेयर चौधरीले एक टेलिभिजनमा कानुन नमान्ने अभिव्यक्ति दिएको कुराले अन्य पत्रकारहरु पनि त्यसको सिकार हुनुपर्ने औल्याएँ ।

‘पत्रकार भित्रका बिकृति हटाउन हामी प्रतिबद्ध छौँ,’उनले भने,‘उपमहागरको प्रेसप्रति हेर्ने दृष्टिकोण के हो ? हामी यो समयमा एकातिर भौतिक र अर्कोतिर कानुनको लडाईँमा छौँ ।’ कार्यक्रममा अग्रज पत्रकार सालिग्राम पाण्डेले मेयरको मानसिक सन्तुलन ठीक नभएको चर्चा औल्याउँदै भने,‘अहिले केही मानिसहरुले मानसिक सन्तुलन गुमेको आरोप लगाएका छन्, यो उपचार गर्ने दायित्व कसको हो ?’ यस्ता घटना पुनः दोहोरिन सक्ने भन्दै उनले पत्रकार र मेयर दुवैपक्ष सच्चिन आग्रह गरे ।