धरान: डेंगु ज्वरोका विरामीको संख्या बढेको बढेकै छ । स्वास्थ्यकर्मी, स्वास्थ सेवा विभाग र मन्त्रालयको ध्यान पनि धरानमा देखिएको डेंगुको प्रकोप कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रीत छ ।

धरानका जनप्रतिनिधिहरुले भने डेंगु नियन्त्रण गर्न अथवा लामखुट्टेको लार्भा नष्ट गर्न गम्भीरतापुर्वक चासो नदेखाएको आलोचना भइरहेको थियो । डेंगु देखा परेको झण्डै ४ सातापछि आज धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि लार्भा नष्ट गर्ने अभियान शुरुवात गर्यो । तर, यो शुरुवात गर्दा उपमहानगरपालिका परिसरमै बुधबार बिहान लामखुट्टेको लार्भा भेटियो । यो घटनाले नगरबासी सचेत नभएको भनिरहेका जनप्रतिनिधि, उपमहानगरपालिका आफै पनि कतिसम्म सचेत रहेछन् भन्ने प्रष्ट परेको छ ।

dengu-laarva1

उपमहानगरपालिका परिसरमा भएको टायरमा लामखुट्टेको लार्भा भेटिएको हो ।र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजय खनालका अनुसार उपमहानगरपालिकाभित्र टायरमा भेटिएको लामखुट्टेको लार्भा डेंगु संक्रमण भएकै हो भन्ने नभएपनि हुनसक्ने सम्भावना पनि उतिकै छ । उनले भने,'कुन लार्भामा डेंगु छ, छैन भन्न सकिन्न । अहिले जुन किसिमले डेंगुको प्रकोप बढीरहेको छ, त्यसले चै हुनसक्ने सम्भावना धेरै छ ।'

र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले टायरमा पानी जमेको र त्यहाँ लामखुट्टेको लार्भा भेटेपछि मट्तिेल खन्याएका थिए । उनले र्यापिड रेस्पोन्स टिमका सबैलाई देखाएर टायरबाट पानी फालेका पनि थिए । ‘डेंगु नियन्त्रणको नेतृत्व गर्ने निकायमा नै लामखुट्टेको लार्भा भेटियो, यतिका दिनसम्म पनि कसैको ध्यान आफ्नो कार्यालयमा के अवस्था छ भनेर पुगेको देखिएन,’सदस्य राईले भने,‘आम सर्वसाधारण जनतामा के अवस्था छ, कति सचेत छन् भन्ने त परको कुरा भयो ।’

denguu