धरान:धरानमा डेंगुले महामारीको रुप लिएको चिकित्सकहरुले जनाएका छन् । साथै उनीहरुले आम सर्वसाधारणहरुमा सर्तकर्ता अपनाउन आग्रह पनि गरेका छन् ।

१ नं प्रदेश सभाको सामाजिक विकास समितिसँगै डेंगुबारे स्थलगत बुझ्न धरान आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले धरानमा डेंगुको महामारी रुप लिएको बताए । डेंगु विरामीको चापले गर्दा महामारी रुप लिएको उनले बताए । उनले प्रदेश सांसदहरु र धरानका जनप्रतिनिधिहरुकै अघि धरानलाई हेल्थ इर्मेजेन्सी(स्वास्थ्य संकटग्रस्त) घोषणा गर्न ढिलाई गर्न नहुने पनि सुझाव दिएका थिए । यो घोषणा गरेपछि मात्र आम मानिसहरुले सजगता अपनाउने र राज्यले केही दबाब दिएर भएपनि घरमा जम्मा गरेको पानी फाल्न र लार्भा नष्ट गर्न सक्ने उनको भनाई थियो ।

उनकै बिशेष आग्रहमा धरान उपमहानगरपालिकाले वडा नं १५ र ८ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ । ती वडाहरुमा अत्यधिक मात्रामा डेंगु ज्वरोका विरामी भेटिएको र नियन्त्रणबाहिर गएकोले संकटग्रस्त वडा घोषणा गरिएको कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्,‘ती वडालाई संकटग्रस्त वडा घोषणा गरेर वडा कार्यालयमा पत्राचार गरेका छौं । अब वडामा समिति बनाएर तत्काल घरदैलो अभियान तीब्ररुपमा चलाउन निर्देशन दिएका छौं । बजेट पनि हामी व्यवस्थापन गछौं ।’ मानिसहरुले हरेक घरमा पानी जम्मा गरेर राखेकोले गर्दा लामखुट्टेको लार्भा घरघरमा भएको र पानी नफालेसम्म नष्ट नहुने चिकित्सकहरुले बताउदै आएका छन् ।

सामाजिक विकास समितिले बिहिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर प्रशासन र चिकित्सकहरुसँग डेंगु ज्वरो र विरामीहरुको अवस्थाबारे बुझेका थिए । समितिले इर्मेजेन्सीमा उपचाररत विरामीहरुलाई पनि भेटेका थिए । यस्तै, धरान उपमहानगरपालिकामा पनि जनप्रतिनिधिहरुसँग डेंगु नियन्त्रणको प्रयासबारे जानकारी समितिले लिएको थियो ।