ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेशको नीति तथा कार्यक्रम कृषि केन्द्रित” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ सरकारले ृषिलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रममा कृषकलाई तालिम दिने, कृषिक्षेत्रको आधुनिकीकरण गर्ने, अनुदान दिने, बीउ विजनको सुधार, सामूहिक खेतीदेखि कृषिसम्बन्धी ठूला कम्पनी स्थापना गर्नेसम्मलाई नीति तथा कार्यक्रमले समेटेको छ । कृषि क्षेत्रको विकास र व्यवसायीकरणमा तीनै तहका सरकारबीच समन्वय, सहयोग र सहकार्यगरी कृषि विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, ओखलढुंगाजिल्लामा कोदो, फापर, लट्टे, कागुनो, चिनो, जौ र उवा जस्ता सुपर हिमालयन फुडको उत्पादनमा प्रोत्साहन गरिने उल्लेख छ ।

औजार : आजको औजार दैनिकमा “पत्रकार घटनाको विषयमा अध्ययन गर्न मिसन टोली” शीर्षकको समाचार छापिएको छ । नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकले पत्रकार माथिको आक्रमण र धम्बीको विषयमा अध्ययन गर्न मिसन टोली गठन गरेको छ । विहीबार महासंघको प्रदेश अध्यक्ष विक्रम लुइटेलको अध्यक्षतामा बसेको बैठकले इटहरीमा भएको एकपछि अर्को घटनाको विषयमा सत्यतथ्य अध्ययन गरी बाहिर ल्याउन चार सदस्य मिसन टोली गठन गरिएको छ । टोलीलाई सुनसरीको धरानमा पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर राईमाथि कार्यालयमै भएको आक्रमणको घटनाको पनि सत्यतथ्य अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । टोलीको संयोजकमा महासंघका पूर्वकेन्द्रिय सदस्य मोहनकाजी न्यौपाने र सदस्यहरुमा नेपाल पत्रकार महासंघमा पूर्व सदस्य गणेश लम्साल,। म्हासंघका सुनसरी अध्यक्ष अमर खडका र नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादव रहेका छन् ।

नयाँ पत्रिका : आजको नयाँ पत्रिका दैनिकमा “तुम्लिङटार-हीले जोड्ने सडक दैनिक ९ घण्टा अवरुद्ध” शीर्षकको समाचार छापिएको छ । संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङ्गटार–हिले सडकखण्ड दैनिक ९ घण्टा सडक बन्द गरेर स्तरोन्नति गर्ने काम सुरु भएको छ । गएको जेठ १५ गतेदेखि दुई महिनासम्म दैनिक ९ घण्टा बन्द गरेर सडक मर्मतको काम भइरहेको हो । दैनिक बिहान ७ बजेदेखि ११ बजे र दिउँसो १ बजेदेखि ६ बजेसम्म सडक बन्द रहने तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरजहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार, तुम्लिङ्गटार हुँदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोलाबाट लेगुवा निस्कने बीचको अक्करको बाटोको चौडाइ तीन मिटर मात्रै भएकाले बढाउने काम भइरहेको हो । सडक चौडा र मर्मत गर्ने काम रौताहा सन्तोषी जेभीले गरिरहेको छ । दैनिक ९ घण्टा बन्द गरेर सडक चौडा पार्नेबारे सरोकारवाला सबैमा जानकारी गराइ काम सुरु गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयले जनाएको छ । तुम्लिङ्गटारको सभाखोला हुँदै लेगुवादेखि हिलेसम्म निस्कने सडकखण्ड कच्ची र साँघुरो भएका कारण स्थानीयले सास्ती भोग्दै आउनुपरेको छ । यो सडक संखुवासभाबाट धरान, धनकुटा, विराटनगर र काठमाण्डौ जाने मुख्य सडक हो । अहिले तुम्लिङटारदेखि हिले निस्कने सडकखण्ड मर्मतको लागि बन्द भएपछि तुम्लिङटारबाट चैनपुर-मुडेशनिश्चरे हुँदै हिले निस्कने सडकखण्ड प्रयोग भइरहेको छ ।