इटहरी : इटहरी उद्योग वाणिज्य संघको आगामी असार १४ गते हुन लागेको चुनाव नजिकिदैँ गएपछि भीम पौडेलको साझा समूहले उमेद्धारी घोषणा गरेको छ ।

बिहीबार इटहरीमा एक भव्य कार्यक्रमका बीच उमेद्धारी घोषणा गरिएको हो । उम्मेद्वारी घोषणा गरेपछि व्यवसायी पौडेलले आँफूले व्यवसायीका लागि गरेको कामको बारेमा बताए । उनले अहिले पनि व्यवसायीहरुमा ज्यादै समस्या रहेको बताउँदै तीनै समस्याको निक्र्यौल गर्नका लागि आफ्नो उमेद्धारी रहेको बताए । उनले कार्यक्रममा भने, ‘मैले धनकुटाबाट नूनको व्यापार सुरु गरेको हुँ, आज हजार जना भन्दा बढी कर्मचारी छन् म सँग । मैले जहिल्यै पनि एउटा कामदार भएर काम गर्दै आएको छु, मालिक बन्ने इच्छा कहिल्यै भएन, मैले व्यवसायीको हक हितका लागि कामदार भएर नै काम गर्नेछु भन्ने विश्वास दिलाउँन चाहन्छु ।’ उनले आँफू अध्यक्ष भएपछि व्यापारीको हक हितका लागि ५ लाखको निःशुल्क बीमा गरिदिने समेत बताए । उनले भने, ‘व्यवसायीका लागि ५ लाखको बीमा, व्यवसायी मैत्री कार्य सम्पादन, प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र, विज्ञ परामर्शदाताको व्यवस्था, कर तथा घर बहाल लगायतका समस्या तत्काल न्यूनिकरण गर्नका लागि पनि मेरो र साझा समूहको उमेद्धारी हो ।’

दुई दशक अगाडिबाट व्यापारमा सक्रिय रहेका पौडेलले लेटाङमा सडक पिँच, विद्यालय बनाउन सहयोग, धरानमा सुधार गृह निर्माणका लागि सहयोग, इटहरीमा केही समयअगाडि मात्रै निर्माण भएको राधाकृष्ण प्रणामी मन्दिरमा ५१ लाख बराबरको सामान सहयोग गरेको सुनाए । ‘मैले व्यवसायीको समस्या समाधान गर्नकै निम्ति मेरो उमेद्धारी हो,’ उनले भने, ‘मैले अरु भन्दा फरक तरिकाले व्ययवसायीको हितका निम्ति काम गर्ने विश्वास दिलाउँछु ।’

पौडेलको साझा समूहमा महिला सदस्य गायत्री भण्डारी, शोभा कोईराला (सविना), एसोसियट तर्फका सदस्य सुदीप घिमिरे, वस्तुगत सदस्य महेन्द्र रेग्मी, बलराम भण्डारी रहेका छन् । त्यस्तै उद्योग तर्फ दिवस पोखरेल, विष्णु नारायण डाँगी, लक्ष्मण हुमागाई, मुक्तिनाथ दाहाल रहेका छन् । त्यस्तै वाणिज्य तर्फ विष्णु प्रसाद रिजाल, अनिल सुब्बा(काका), नवराज काफ्ले, पिताम्बर पोखरेल, जीवन पराजुली, राम कुमार श्रेष्ठ, खगेन्द्र विमली, राम हृदय राय (राजु), अशोक अग्रवाल (मोर) ले सदस्यमा उमेद्धारी घोषणा गरेका छन् ।