धरान : धरानमा डेंगुको महामारी फैलिएपछि यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेस धरानले धरान उपमहानगरपालिकालाई बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “धरान शुन्दर, सफा एवम् स्वच्छ मात्र नभएर स्वस्थ शहर पनि हो भन्ने छवि सर्वत्र छ । तर, केही समययता धरानको स्वास्थ्यको छविमा प्रश्न चिह्न उठिरहेको छ । अहिले धरानमा विपतको रुपमा डेंगु रोग भाइरहल भइरहेको छ । यो विपत तत्काल रोक्न नसक्ने हो भने यसले धरानको आम नागरिकहरुमा महामारीको रुप लिने र सम्पूर्ण नागरिकमा त्रसित गर्नेछ । यो विषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको बाँच्न पाउने अधिकारमा यो विषयले प्रश्न चिह्न लाग्ने देखिदैछ । तसर्थ बेलैमा यस विषयमा गम्भीर बनेर तत्काल र्यापिड रुपमा यसको रोकथामका लागि कार्य गर्न धरान उपमहानगरलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।”

नेपाली कांग्रेस नगर सभापति तिलक राई, जिल्ला सदस्य अनिल श्रेष्ठ, जिल्ला सदस्य माधव धिसिङ्ग, क्षेत्रिय सचिव मुरारी भट्टराई, नगर सचिव श्याम पोख्रेल, नगर सचिव युवराज शंकर र नेपाल दलित संघका सभापति गणेश परियार लगायतले उपस्थितिमा धरानमा डेंगुको प्रकोप तिब्र गतिमा बढेकोले यसलाई समयमै नियन्त्रण गर्न सम्बन्धित पार्टिका नेता तथा कार्यकर्तालाई वडा, टोल टोलमा जनचेतना जगाउनका लागि धरान उपमहानगरपालिकाका कार्वाहक मेयर मन्जु भण्डारी सुवेदीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाईको हो ।

यसैगरी ज्ञापनपत्रमा यो पनि भनिएको छ, “यो कसैले चाहेर भएको हैन । यसमा कसैको दुईमत छैन । सामान्य अवस्थामा देखिएको समयमा नै क्रियाशिलता नदेखाउँदा अहिले प्रकोपको रुपमा झन्झन् भयावह स्थीतिको रुप लिदै गएको देखिन्छ । यसले धरानको छविका साथै धराने जनताको रोजीरोटीमा पनि असर पर्न देखिन थालेको छ । यसका लागि स्थानीय सरकार धरान उपमहानगरपालिका भएको हुँदा यसका लागि आकस्मिक कदम चाल्नुपर्ने देखिन्छ । शुरुवाती चरणमा नै यो रोग प्रभावित नागरिक भेटने वित्तिकै हेलचेक्र्याई गरेर वेवास्ता गरेको कारण नै यसले भयावह रुप लिएको हो । नगरको स्वास्थ्य जिम्मेवारी उपमहानगरपालिका हो तर उपमहानगरपालिकाको नेतृत्व शुरुवाती चरणमा चुकेकै हो । यसका लागि उपमहानगरपालिकाको नेतृत्वले गम्भीर आत्मलोचना गर्नुपर्दछ । स्वास्थ्य जस्तो साँझा विषय भएको हुँदा यसका लागि हाम्रो तर्फबाट पनि महामारी नियन्त्रणका लागि क्रियाशिलता रहनेछ ।”

डेंगुको महामारी प्रचार भन्दा पनि नकारात्मक प्रचार बढी भएको प्रति नेपाली कांगे्रस धरान कार्य समितिले आपत्ती जनाएको हो । तस्विरः एल थापा