काठमाडौं : कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ भने ७६ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्षतिको थप विवरण संकलन भइरहेको एसपी गिरीले बताए । फोटोः ईमेज खबरबाट