धरान: धरानमा डेंगु ज्वरोले महामारीको रुप लिएको छ । महामारीकोरुप लिएपछि प्रदेश सरकारले पनि गम्भीरतापुर्वक लिएको छ ।

बिहिबार प्रदेश १ सभाको सामाजिक विकास समिति धरान आएर स्थलगतरुपमा जानकारी लिएको थियो । धरानबाट फर्केपछि समितिकी सभापति सरिता थापाले स्वास्थ्यसमेत हेर्ने सामाजिक विकास मन्त्रालयलाई निःशुल्क उपचार, डेंगुको नियन्त्रणमा आवश्यक कदम चाल्न निर्देशन दिएको थियो । आज पुनः डेंगुप्रति गम्भीरतापुर्वक चासो लिदै प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि विज्ञ चिकित्सक र उपमहानगरपालिकासँग जानकारी लिएका थिए भने संकटग्रस्त वडामा गएर लार्भा नष्टको अभियानकोबारेमा स्थलगत जानकारी पनि लिएका थिए ।

IMG_8303

धरान उपमहानगरपालिले वडा नं १५ र ८ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरिसकेको छ । वडा नं १५ को खोरिया वस्तीमा पुगेर सभामुख भण्डारी र मन्त्री घिमिरले स्थलगत अवलोकन गरेका थिए । त्यहाँ भेटिएका वडाअध्यक्ष नरेश इवारमले वृहत घरदैलो अभियान शुरु गरिएको तर फगिङ मेशिनको भने अभाव भएको बताए । उनले मेशिन उपलब्ध गराइदिन मन्त्री घिमिरेसँग आग्रह गरे । स्थलगत अवलोकन अघि सभामुख भण्डारी र मन्त्री घिमिरेले स्थलगतरुपमा अवलोकनमा जानुअघि सभामुख भण्डारी र मन्त्री घिमिरेले विपी प्रतिष्ठानमा उपकुलपति डा.राजकुमार रौनियार, अस्पताल निर्देशक डा.गौरीशंकर साह, र्यापिड रेस्पोन्स टिमका सदस्य र कार्यवाहक मेयर मञ्जु भण्डारीबाट जानकारी लिएका थिए ।

सभामुख भण्डारीले हरेक घरमा पानी जम्मा गरेर राख्ने गरिएकोले घर घरमा लार्भा नष्ट गर्ने अभियान लिएर पुग्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । ‘अहिले नियन्त्रणमा आएन भने मनसुन पछि झन् भयावह अवस्था आउनसक्छ, त्यसैले घरमा राखेको गमला, ड्रम जे जेमा पानी छ, त्यो फाल्न लगाउनुपर्छ,’उनले भने ।

IMG_8306

मन्त्री घिमिरेले पनि सावधानी अपनाउदै लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । ‘प्रदेशबाट पनि स्वास्थ्यकर्मीको टिम परिचालन गरिएको छ, आवश्यक फगिङ मेशिन पनि उपलब्ध गराउछौं,’मन्त्री घिमिरेले भने,‘२ वटा भेण्डिलेटरको तत्काल व्यवस्थापन गर्न प्रदेश स्वास्थ्य निर्देशकलाई निर्देशन गरिसकेको छुँ ।’ कार्यवाहक मेयर भण्डारीले धरानको वडाहरुमा विभिन्न टिम बनाएर लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको बताइन् । साथै, डेंगु विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिने पनि उनले बताइन् ।