काठमाण्डौ : भाषा परीक्षा मार्फत दक्षिण कोरिया जाने नेपालीहरुको १० औं भाषा परीक्षा आजबाट सुरु भएको छ ।

यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालन तर्फ २८ हजार ८ सय ८९ जनाले फारम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको भाषा परीक्षामा गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।

आज र भोलि हुने परीक्षा काठमाडौं र पोखराका विभिन्न ३२ केन्द्रमा सञ्चालन हुनेछ । शाखाले भाषा परीक्षाका लागि काठमाडौंमा २८ र पोखरामा ४ वटा केन्द्रको ब्यवस्था गरेको छ । दुई सिफ्टमा सञ्चालन हुने परीक्षाको पहिलो सत्र बिहान साढे ८ बजेबाट सुरु भएको छ । दोस्रो सिफ्ट भने बिहान साढे ११ बजे सञ्चालन हुनेछ ।

सन् २००८ बाट नेपाली कामदार लैजान सुरु गरेको दक्षिण कोरियाले यो वर्ष हालसम्मकै सबै भन्दा बढी १० हजार ५० नेपाली कामदार लैजाने घोषणा गरिसकेको छ । कोरियाले यसवर्ष उत्पादन तर्फ ७ हजार ५० र कृषि र पशुपालन तर्फ ३ हजार नेपाली कामदार लैजाने छ । भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशन गर्ने ईपीएस शाखाले यसअघि नै तय गरिसकेको छ ।