धरान: करिब चार हप्तादेखि धरानलाई डेंगु ज्वरोको महामारीले त्रसित बनाएको छ । अझ चिकित्सकहरुमा कुन प्रकारको डेंगु हो भन्ने चासो थियो । किनभने, फरक फरक भाइरस भएको डेंगु हो भने धेरै जोखिम हुन्छ ।

चिकित्सकहरु अहिले केही ढुक्क छन् । किनभने, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोवायोलोजी विभागको परीक्षणबाट धरानमा रहेको डेंगुको भाइरस टाइप टु(डेन टु) मात्र भएको पुष्टि भएको छ । प्रतिष्ठानको माइक्रोवायोलोजी विभागसँग भएको डेंगु किट(रिएजेन्ट)मा परीक्षण गर्दा टाइप टु(डेन टु) भाइरस मात्र भएको पत्ता लगेको अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए । उनका अनुसार एउटै प्रकारको भाइरस डेन टुबाट धरानमा डेंगु संक्रमण फैलिएको छ । ‘यो अहिले जोखिमको अवस्था होइन । तर, मनसुन पछि पुनः डेंगु संक्रमण फैलिनसक्ने र त्यसबेला अर्को प्रकारको भाइरसको सक्रमण भयो भने चै खतरा हुन्छ,’उनले भने ।

चिकित्सकहरुका अनुसार डेंगुको डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरि चार प्रकारको भाइरस हुन्छ । डेन वानबाट डेंगु संक्रमण भएको व्यक्तिलाई फेरि २ वा ३ भाइरसबाट डेंगु भएमा खतरा हुन्छ । जुन भाइरसबाट डेंगु भएको हो, फेरी त्यही भाइरसबाट हुदा खतरा हुदैन । तर, अर्को भाइरसबाट फेरि डेंगु भएमा भने स्वास्थ्यमा खतरा हुने चिकित्सकहरुको भनाई छ । ‘अहिले धरानमा टाइप टु भाइरसबाट डेंगु भएको देखियो, अर्को पटक यही भाइरसले डेंगु भयो भने केही हुदैन, तर टाइप वान, थ्री वा फोर भाइरसबाट संक्रमण भयो भने खतरा हुन्छ,’माइक्रोवायोलोजीका एसोसिएट प्रोफेसर डा.नारायण भटराईले भने,‘त्यसैले पानी जम्मा भएको ठाउँ क्लियर गर्नुपर्छ ।’