धरान: चार सातादेखि डेंगुको महामारी फैलिएकोले धरानमा लामखुट्टेको बासस्थान नष्ट गर्न जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने अभियान सबैतिर भइरहेको छ ।

वडाको टोल, वस्तीको हरेक घरमा जमेको पानी पोखाएर नष्ट गर्ने अभियान चलिरहदा हिजो राती भने धरानमा हलुका बर्षा भएको छ । चिकित्सकहरुले यो बर्षाले पुनः धरानमा पानी जमिएकोले अझ ध्यान दिनुपर्ने बताएका छन् । ‘पानी ठुलो मात्रामा परेको भए लामखुट्टेको अण्डा र लार्भा बगाएर लैजान्थ्यो,’र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजय खनालले भने,‘तर बग्ने गरी पानी नपरेर धरानमा जमिने गरि मात्र पर्यो । त्यसैले धरानबासीहरुले झनै ख्याल गर्नुपर्ने भयो । कतै फेरि घर,आँगन, वरीपरी पानी जम्यो कि ?’

डा. खनालले धरानमा ढिलै भएपनि आममानिसमा डेंगु नियन्त्रणको लागि जागरुकता आएको भन्दै खुशी पनि व्यक्त गरे । टोल टोलमा मानिसहरु स्वतःस्फुर्त लार्भा नष्ट गर्ने अभियानमा लागेको उनको भनाई छ । ‘म भर्खर वडा १९ को भेलामा गएको थिए । त्यहाँ लार्भा देखाएर नष्ट यसरी नष्ट गर्नुपर्छ भनेर सिकाएर आए । मान्छेमा जागरण देखिएको छ, चेतना आइसकेको छ,’डा. खनालले भने,‘यो जागरुकता अहिले मात्र होइन, सधै पछिसम्मै हुनुपर्छ । किनभने एक पटक देखिएको रोग अर्को पटक बल्झन समय लाग्दैन ।’ डा. खनालले उपमहानगरपालिका र वडा कार्यालयले हरेक साता नियमित सरसफाई अभियान र जमेको पानी नष्ट गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए ।

झाडु लगाउन मात्र होइन, स्प्रे प्राथमिकता दिउँ

dengue-aviyaan 1

अहिले कतिपय वडामा झाडु बोकेर सरसफाई कार्यक्रम भइरहेको छ । यो हुनु राम्रो हो । तर, अहिले झाडु लगाउनु भन्दा पनि लार्भा नष्ट गर्ने कार्यक्रम मुख्य प्राथमिकतामा हुनुपर्ने र्यापिड रेस्पोन्स टिमको भनाई छ । टिमका सदस्य एवं विपी प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले भने,‘वोतलमा मट्टितेल बोकेर स्प्रे गर्नुपर्ने अहिलेको आवश्यकता हो । सडकमा झाडु लगाउन भन्दा अहिले जम्मा भएको पानी फाल्न र लार्भा नष्ट गर्न स्प्रे बोकेर हिड्नुपर्ने आवश्यकता हो ।’

स्प्रेमा मट्टितेल हुन्छ । त्यो जम्मा भएको पानीमा हाल्दा अण्डा नष्ट हुन्छ । लार्भा र प्युँपा पनि मर्छ । स्प्रे पाउन सहज हुने भएकोले यो प्रभावकारी उपाय हो । होटलहरुले पानी धेरै स्टक गरेर राख्ने र बिक्रो वलियो गरेर नछोपेको हुनाले धेरै लामखुट्टेको लार्भा भएको भेटिएको राईले बताए । ‘छोपेको त भन्छन्, तर हावा पनि नछिर्ने गरी छोप्नुपर्छ । त्यस्तो देखिएन । धेरै चै टायरमा पानी जम्मा भएको देखिन्छ,’उनले भने ।