इटहरी : गत वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने मागसहित प्रदेश १ का पत्रकारहरुले इटहरीमा मानव साङ्लोमा बाँधिएर शनिबार विरोध गरेका छन् ।

इटहरीको मुख्य चौकमा नेपाल पत्रकार महासंघ सुनसरी र महासंघ प्रदेश १ को आयोजनामा इटहरीमा मानव साङ्लो प्रर्दशन गरिएको हो ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सरकारले संसदमा दर्ता गरेको विधेयक तत्काल फिर्ता लिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘यो दोस्रो चरणको कार्यक्रममा हामीले संसदमा दर्ता भएको मिडिया काउन्सिल फिर्ता लिनुपर्छ भनेर हामीले इटहरीमा यो कार्यक्रमको आयोजना गरेका हौँ ।’

कार्यक्रममा महासंघ प्रद्रेश १ का महासचिव विवेक गौतमले जनआन्दोलनको समयमा झैँ पत्रकारहरु सडकमा उत्रिनुपरेको विडम्बना अहिले पनि ताजै रहेको बताए । उनले भने, ‘अहिले पत्रकारहरुमा एकपछि अर्को आक्रमणका घटना भईरहेका छन्, अहिले दुईतिहाईँको सरकारले पत्रकारको लेख्ने अधिकारलाई अंकुश लगाउनका निम्ति ल्याएको विधेयक फिर्ता हुनुपर्छ ।’ पत्रकारलाई समाचार लेखेकै आधारमा १० लाख बुझाउनुपर्ने र कारागार चलान गर्ने विधेयक फिर्ता हुनुपर्नेमा उनले जोड दिए । पत्रकारले गलत गरेको भए अदालतमा जानु पर्ने बताउँदै उनले स्वतन्त्र रुपमा खोज पत्रकारिता गर्नेलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लगाए ।