धरान: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले नेपाली जनताले लडेर ल्याएको संविधानलाई वर्तमान दुई तिहाईको सरकारले भत्काउनतिर लागेको बताएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको आज धरानको भानुचोकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले नेकपा नेतृत्वको सरकारले संविधान, लोकतन्त्र र सुशासनको जगलाई नै भत्काउन लागेको आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोपोलीढंगले सरकार चलाइरहेको उनले बताए । धरानमा मेयरको पद रिक्त भएको एक बर्ष समय बितिसक्दा पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले निर्वाचन नगराएर धराने जनताको आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारबाट बञ्चित गराएको बताए । 'संविधानमा १ बर्ष पनि कार्यकाल बाँकी छ भने चुनाव गर्नुपर्ने र जनतालाई आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार छ, तर धरानका जनतलाई यो अधिकारबाट बञ्चित गराएर सरकारले संविधानलाई भत्काउने काम गरेको छ,'नेता आचार्यले भने,'जनताले दुःख गरेर बनाएको संविधानलाई यो सरकारले दुई तिहाईको दम्भले भत्काउने काम गर्दैछ । नत्र खै त संविधानले भने अनुसार धरानलगायत अन्य रिक्त ठाउँमा चुनाव गराएको ?'

IMG_8332

नेता आचार्यले दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रताको गला निमोठ्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएको र यो पनि संविधानले ग्यारेण्टी गरेको पुर्णप्रेस स्वतन्त्रताविरुद्ध भएको बताए । मानवअधिकार आयोगको पनि स्वतन्त्रता र स्वायत्ततालाई अपहरण गर्ने गरी कानुन संशोधन गर्ने विधेयक र सेना परिचालनको अधिकार पनि प्रधानमन्त्रीलाई दिने गरि कानुन संशोधन गर्न विधेयक संसदमा लगिएकोले वर्तमान सरकारले संविधानलाई भत्काउन उद्दत रहेको दाबी गरे । 'संविधान विपरीत दुई तिहाई सरकारले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने कोसिस गरिदैछ । प्रेस स्वतन्त्रता, मानवअधिकार आयोगको स्वतन्त्रता, सेना परिचालन, विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता यी सबै बिषयमा संविधान विपरीत यो सरकारले विधेयक संसदमा लगेकोछ,' नेता आचार्यले भने,'न्याय क्षेत्र पनि सरकारको दबाब र प्रभावमा राख्ने प्रयत्न भइरहेको छ ।'

दुई तिहाईको बहुमतले मात्र स्थीरताको ग्यारेण्टी नहुने दाबी गर्दै नेता आचार्यले सरकार विधि र कानुनको बाटोमा हिड्न आवश्यक भएको बताए । सबै अधिकार प्रधानमन्त्रीमा केन्द्रीत गर्न खोज्नु, प्रेस मानवअधिकार आयोग, न्यायलय र सेनालाई पनि आफ्नो कब्जामा बनाउन खोज्नुले वर्तमान सरकार गलत बाटोमा हिडिरहेको नेता आचार्यको भनाई थियो । वाइडबडी प्रकरणमा बोल्दै नेता आचार्यले सरकारले भ्रष्टचारलाई संस्थागतरुपमा संरक्षण गरेको आरोप लगाए । भ्रष्टचार भए नभएको बिषयमा सरकारले जनतासामु प्रष्ट पार्नुपर्ने उनले माग गरे ।

IMG_8341

मुलुकमा शान्ति सुरक्षाको अवस्था पनि कहाली लाग्दो रहेको नेता आचार्यले बताए । '१३ बर्षको निर्मला पन्तको बलात्कार र हत्या गर्नेहरु अहिलेसम्म पक्राउ पर्न सकेको छैन, दुई तिहाईको सरकारले अपराधी पक्राउ गर्न होइन, लुकाउन तिर लाग्यो,'नेता आचार्यले भने,'नेपालगञ्जको स्वास्तिका लिम्बूको हत्या भयो । त्यो अपराधमा सत्ता पक्षकै मानिसहरु थिए, सरकारले उनीहरुलाई जोगाउनतिर लाग्यो ।'

सरकारले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गरिरहेको नेता आचार्यले बताए । काठमाण्डौं नै सुरक्षित नभएको प्रमाणित भइसकेको भनाई राख्दै नेता आचार्यले सरकारको नालायकीपन जनतासामु आइसकेको बताए । उनले धरानको प्रसंग जोड्दै निरन्तर २८ बर्षदेखि कम्युनिष्टहरुले जितेपनि धरानको विकास र समृद्धि हुन नसकेको बताए । पहिला पुर्वी नेपालको व्यापारिक केन्द्र बनेको धरान अहिले खस्कदै गएको र केन्द्र सरकारबाट अपमानित हुने रोग लागेको पनि उनले बताए ।

IMG_20190608_184023-(1)

उक्त कार्यक्रममा संघीय संसद सिताराम मेहता, नेतृ मिना सुब्बा, प्रदेश सांसद तथा जिल्ला सभापति राजिव कोइराला, जिल्ला सचिव केदार भण्डारी, धरान नगर सभापति तिलक राईले पनि सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा विभिन्न पार्टीका ३४ जना युवाहरु कांग्रेस पार्टीमा प्रवेश गराइएको थियो ।

तस्विरः लक्ष्मण थापा